मोरङका स्थानीय तहहरुलाइ उछिन्दै केराबारी गाउँपालिकाले गर्यो पाँचौं गाउँसभा

  • २९ फाल्गुन २०७६, बिहीबार

मोरङका स्थानीय तहहरुलाइ उछिन्दै केराबारी गाउँपालिकाको पाँचौं गाउँसभा गरेको छ ।

मोरङ क्षेत्र नं. १ ख का प्रेदश सभाका सांसद उपेन्द्र घिमिरेको प्रमुख आतिथ्यता र केराबारी गाउँपालिका अध्यक्ष रोहितवहादुर कार्कीको सभापतित्वमा भएको गाउँसभामा उपाध्यक्ष शान्तिकुमारी लिम्बू (भूजेल) ले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् ।

‘कृषि पर्यटन सहितको पूर्ण पूर्वाधार, समृद्ध केराबारी हाम्रो आधार’ भन्ने नाराका साथ गरिएको हिउँदे अधिबेशनको निति कार्यक्रममा भौतिक, सामाजिक तथा आर्थिक विकासमा सबै  नागरिकको सार्वजनिक सेवामा पहुँच अभिबृद्धि गर्ने लक्ष्य लिइएको छ ।

दुई दिन चल्ने गाउँसभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा पूर्बाधार विकास अन्तरगत सडक सिचाई, भवन तथा शहरी विकास, उर्जा,  संञ्चार, खानेपानी आदि शिर्षक समाबेश छन् । त्यस्तै उद्योग पर्यटन तथा बाणिज्य तर्फ पनि विभिन्न कार्यक्रमहरु समेटिएका छन् । त्यसैगरी सामाजिक बिकास अन्तरगत स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाई महिला तथा बालबालिका हित आदिमा जोड दिइएको छ ।

त्यस्तै आर्थिक विकासका लागि उन्नत कृषि तथा पशुपालनमा जोड दिने , नागरिकको आयआर्जनमा विस्तार गर्न स्थानीय उत्पादनलाइ प्रोत्साहन गर्ने, श्रोत पहिचान र खोजी गरी जनसहभागितामा आधारीत विकास योजनालाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको लिएको जनाएको छ ।

गाउँसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका मोरङ क्षेत्र नं.१ ख बाट निर्वाचित प्रदेश सभाका सांसद उपेन्द्र घिमिरेले स्थानीय तहको योजना संञ्चालन गर्न बनेका कतिपय नीति तथा कार्यक्रमहरु प्रदेश तथा संघमा बाझिने गरेको र कार्यान्वयनमा समस्या आउने गरेकोले सचेत भएर ऐन कानुन बनाउन आग्रह गरे ।

कार्यक्रममा नेकपा केराबारीका अध्यक्ष राम कार्की,नेपाली कांग्रेसका सभापति प्रकास बस्नेत, समाजवादीका अध्यक्ष योगराज राई, खदम क्याम्पस प्रमुख टेकवहादुर थपलिया लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।