टांँडी र श्रीलंकामा प्रदेश १ सरकारले बनाउनेभो एक हजार क्षमताका क्वारेन्टाइन

  • ३ चैत्र २०७६, सोमबार

ईश्वर थापा, धनकुटा । प्रदेश १ सरकारले कोरोना भाइरसको पूर्व तयारीको लागि मोरङको टांँडी र उदयपुरको श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।
      प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो जानकारी दिएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा तेह्रथुमको बसन्तपुरमा भएको सञ्चारकर्मीको क्षमता विकास तालिमको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकार कोरोना नियन्त्रणका लागि पूर्व तयारीमा जुटेको बताए ।
दुई बर्षमा १ सय ५ वटा प्रहरी कार्यालय निर्माण 
      प्रदेश सरकारले दुई वर्षमा १ सय ५ वटा प्रहरी कार्यालय निर्माण भएको बताउँदै १२ वटा जिल्ला प्रहरी कार्यालय भवन बन्न टेन्डर लागेको बताए। उनले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीमा १० वटा वोर्डर आउट निर्माण गर्ने बताए ।
      प्रदेश संरचनाको चर्को आलोचना भएपनि प्रदेश सरकारले उल्लेख्य काम गरेको दाबी गर्दै कार्कीले कानुन, जनशक्ति र आफ्नो अनुभवको कमीले कतिपय काम हुन नसकेको बताए । अहिले कानुन बनाएर मात्रै नहुने त मानिसलाई प्रभावित बनाउनुपर्ने जमाना आएको उनले बताए।