अत्याबश्यक सामग्रीको कृतिम अभाव हुन नदिन बजार अनुगमन गर्दै बेलबारी नगरपालिका

  • ४ चैत्र २०७६, मंगलवार

बेलबारी, माेरङ/ बजारमा अत्याबश्यक सामाग्रीहरुको कृतिम अभाव सिर्जना गरिएकाे जनगुनासो बढेसँगै बेलबारी नगरपालिकाले बजारको अनुगमन गर्न थालेकाे छ ।

मंगलबार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको नगरस्तरीय अनगुमन समितिले बेलबारीका बिभिन्न ग्याँस डिलर, मेडिकल पसल, पेट्राेल पम्प लगायतको अनुगमन गरी बिक्री बितरण सहज बनाउन व्याबसायीहरुसँग आग्रह समेत गरेको थियो ।

अनुगमन टोलीमा उपप्रमुख सहित बेलबारी वडा नम्बर १० का अध्यक्ष गंगा याख्खा, नगरकार्यपालिका सदस्य द्वय बिन्दुकला गुरुङ र खिना थापा, ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख गुणराज बुढाथोकी, शसस्त्र प्रहरी बेस क्याम्पस लक्ष्मीमार्गका प्रमुख चेतन बाराकाेटी, बेलबारी उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्की, बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिक, नगरपालिकाका सूचना अधिकृत महेन्द्र खडका, युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेत लगायतको टोली रहेको थियो ।

अनुगमन टाेलीले बिशेषगरी ग्याँस डिपो, पेट्रोल पम्प लगायतका ठाँउहरुमा अनुगमन केन्द्रित गरेकाे थियाे । बजारमा कृतिम अभाव सिर्जना हुन नदिन र भएका सामान, माक्स लगायतका अत्याबश्यक सामाग्रीहरुको सहज बिक्री बितरणका लागि अनुरोध समेत गरिएको उपप्रमुख एवम् उपभाेक्ता हक संरक्षण समिति बेलबारीकी संयाेजक ढाकाकुमारी पराजुलीले बताईन् । सर्वसाधारणले  भने नगरपालिकाको अनुगमन नियमित हुनु पर्नेमा जाेड दिएका छन् ।

सोमबार मात्र युवा जागरण अभियान नेपालले बजार अनुगमनको माग सहित उपप्रमुख पराजुलीलाई ज्ञापनपत्र बुझाएको थियो ।