बेलबारीले जित्यो सुनवर्षी मेयर कपको उपाधि, खेलाडीलाई जनही ५ हजारसहित सम्मान गरिने

  • ४ चैत्र २०७६, मंगलवार

मोरङको सुनबर्षी  मेयर कप फुटवल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाले हात पारेको छ ।

मंगलवार भएको फाइनल खेलमा कानेपोखरी गाँउपालिकालाई दुई शुन्य गोलले पराजित गर्दै बेलबारी बिजयी भएको हो । जितसँगै बेलबारीले १ लाख २१ हजार र उपविजेता कानेपोखरीले ६५ हजार सहित कप मेडल तथा प्रमाण पत्र पाएका छन् ।

खेलको २९ औँ मिनेटमा बेलबारीका काशिम राईले गोल गरेका थिए भने ३४ औँ मिनेटमा मौसम लिम्बुले दोस्रो गोल गरेर आफ्नो टिमलाई विजेताको नजिक पुर्याएका थिए ।

बेलवारी ‘बी’ ले सुनवर्षी ‘ए’ लाई पहिलो सेमिफाइनलमा हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने कानेपोखरीले अन्तिम सेमिफाइनलमा सुनवर्षी ‘बि’ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा बेलवारीका देभेन धिमाल सर्बोत्कृष्ट खेलाडी घोषित भए । उनले ८ हजार  रुपैयाँ नगद पुरस्कार समेेत प्राप्त गरेका छन् । सर्वाधिक गोलाकर्ता सुनवर्षी ‘ए’ का विकास बस्नेत र सुन्दरहरैचाका डगेन राई घोषित भए । दुवै जनाले ३/३ हजार नगद पुरस्कार प्राप्त गरे । अनुशासित टिम घोषणा भएको सुन्दरहरैैंचाले १० हजार नगद पुरस्कार सहित सम्मान पत्र प्राप्त गरेको छ ।

सुनबर्षी नगरपालिका स्थित वीरेन्द्र समुदाय विद्यालयको खेल मैदानमा फागुन १६ गतेदेखि भएको प्रतियोगिताको समापन पूर्व सूचना तथा सञ्चार मन्त्री तथा मोरङ क्षेत्र न. २ सांसद डा. मिनेन्द्र प्रसाद रिजालले गरेका छन् ।

उपाधि जित्ने खेलाडीलाई जनही ५ हजार सहित सम्मान गर्ने बेलबारी नगरपालिकाको घोषणा

बेलबारी नगरपालिकाकाले मोरङको सुनबर्षी नगरपालिकामा जारी मेयरकप फुटबल प्रतियोगितामा उपाधि जिते प्रत्येक खेलाडीलाई जनही ५ हजारसहित सम्मान गर्ने भएको छ ।

बेलबारी नगरपालिकाका मेयर सुवेदीले विजेता  खेलाडीहरुलाई सम्मान र नगद ५ हजार सहयोग गर्ने घोषणा गरेका हुन्  ।