धनकुटाको महालक्ष्मी नगरपालिकाले बनायो आफ्नै लोगो, नगर गान पनि तयार हुँदै
- ५ चैत्र २०७६, बुधबार
ईश्वर थापा, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकाले आफ्नै मौलिक लोगो बनाएको छ ।
नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर लोगो’ बनाएको हो। धनकुटाकै कान्छो नगरपालिकाले पहिलो नगरसभाबाट लोगो तयार गर्ने निर्णय पारित गरेको थियो । जस अनुसार नगर लोगो तयार भएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए।
‘महालक्ष्मी नगरबासीको छुट्टै पहिचान देखाउने लोगो बनेको छ,’ नेपालले भने, ‘नगरपालिकाको साँस्कृतिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, भौगोलिक तथा बहुपहिचानको झल्को दिनेगरी नगर लोगो तयार भएको छ।’ हालै सम्पन्न भएको नगरसभा अधिवेशनले नगरपालिकाको पहिचान स्थापित गर्न नगर लोगो पास गरी कार्यान्वयन ल्याएको नगर प्रमुख नेपालले बताए।
नगर लोगोमा नगरपालिका क्षेत्रमा पाइने लालिगुराँस, रुद्राक्ष, नगरपालिकाको नाम रहेको महालक्ष्मी मन्दिर, नगरपालिकाको नक्सा, नेपालको झण्डा र नगर क्षेत्रमा पाईने जडिबुटी समावेश गरिएको नगर प्रमुख नेपालले बताए।
नगर गान अन्तिम चरणमा
महालक्ष्मी नगरपालिकाले आफ्नै नगर गानको पनि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
नगर गानका लागि समिति बनाइएको र त्यसले आवश्वक कुरा संकलन गरी नगपालिकामा बुझाएको नगरपालिकाले जनाएको छ। गान कार्यपालिकामा छलफलको चरणमा छ। महालक्ष्मीले आफ्नै पहिचान झल्काउने गरी ‘नगर गान’ अर्थात ‘म्युनिसिपल एन्थम’ बनाउन लागेको नगरपालिकाले जनाएको हो ।
‘नगर गान’ तयार भएपछि नगरपालिकाका हरेक औपचारिक कार्यक्रमहरुमा राष्ट्रिय गानजस्तै कार्यक्रम सुरु हुनुभन्दा अगाडि सामूहिक रुपमा गाउने नियम बसालिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद सुवेदी बताए। ‘नगर लोगो तयार भइसकेको छ, नगर गान तयार हुने चरणमा छ’, सुवेदीले भने ‘देशको आफ्नो छुट्टै राष्ट्रिय गान भएजस्तै महालक्ष्मी नगरपालिकाको पनि छुट्टै नगर गान र नगर लोगो बनाएर लागू गर्न लागिएको छ।’,
नगर गानका लागि गत आर्थिक वर्षमा सुचना जारी गर्दा एउटा पनि गान नपरेकाले यो पटक पुन १ महिनाको म्याद दिएर रचना माग गरिएको नगरपालिकाका सुचना अधिकारी खगेन्द्र नेपालले बताए। त्यस क्रममा संकलन भएका १५ वटा गानलाई स्थानीय महालक्ष्मी बौद्धिक समाजले एक कार्यक्रमको आयोजना गरी वाचन गराएको नेपालले बताए।
आएका रचनामध्ये उत्कृष्टलाई छनौट गरी संगीत भरेर नगरसभाले पारित गरेपछि नगर गान लागू हुने बताउँदै सुचना अधिकारी नेपालले भने, ‘ती रचनाहरु नगरसभामा छलफलको चरणमा रहेकोे सुनाए ।
जातीय सद्भाव, लैंगिक समानता, भौगोलिक, प्राकृतिक र ऐतिहासिक सम्पदा उजागर गर्ने शब्दले भरिएका रचनालाई नगर गानमा प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ ।
नगरपालिका लोकतान्त्रिक गणतन्त्र र संघीयताको कार्यान्वयन गर्न अधिकार सम्पन्न स्थानीय सरकार हो भन्ने प्रभाव छाड्न पनि नगर गान लागू गर्न लागिएको नगर प्रमुख नेपालको भनाइ छ। स्थानीय सरकारको पहिचान र परिचय दिने लोगो बनाएसँगै गीत बनाउने प्रयास गर्ने जिल्लाका सात वटा स्थानीय तह भन्दा महालक्ष्मी नगरपालिका पहिलो भएको छ। अन्य दुई नगरपालिका र चार गाउँपालिकाकाले छुट्टै गीत र लोगो बनाएका छैनन।