टाँडी र श्रीलंकामा बने चार सय बेडका क्वारेन्टाईन, कोरोनाको शंका भए त्यहीँ उपचार गराइने
- ६ चैत्र २०७६, बिहीबार
प्रदेश १ सरकारको निर्णय अनुसार नेपाली सेनासँगको सहकार्यमा कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न मोरङको मिक्लाजुङस्थित टाँडीमा २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा कोरोना संक्रमणका आशंका गरिएकाहरुलाई राखेर उपचार गरिनेछ ।
नेपाली सेनाको टोलीले बिहीबार विहानदेखि खटिएर क्वारेन्टाइन निर्माण गरेको हो । प्रदेश सरकारको गत फागुन २९ गते मन्त्रिपरिषद बैठकबाट पारित कोरोना भाइरसको संक्रमण विरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।
प्रदेश सरकारको निर्णय अनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ ५ टाँडी स्थित यसअघि जनमुक्ति सेनाको क्याम्प रहेको स्थानमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ । हाल सेनाले १०० वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको जनाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कमल थापाले सरकारको निर्णय अनुसार क्वारेन्टाइन निर्माण भएको जानकारी दिए । क्वारेन्टाइनमा अब औषधि, अन्य प्राबिधिक सामान र स्वास्थ्यकर्मी खटाउन भने बाँकी रहेको छ ।
प्रदेश सरकारले संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै र व्यवस्थापनको योजना तयार पारेको थियो । प्रदेश सरकारको टाँडीमा एक हजार र श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।