बेलबारीका जनप्रतिनिधिले बिपत व्यवस्थापन कोषलाई दिने भए एक महिनाको सेवा सुविधा
दशदेखि पन्ध्र दिनको तलब दिनेभए कर्मचारीले पनि
- २० चैत्र २०७६, बिहीबार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिना बराबरीको सेवा सुविधा नगरपालिकाको नाममा रहेको बिपत ब्यबस्थापन कोषलाई दिने निर्णय गरेका छन् ।
बिहिबार नगरकार्यपालिकाको वैठकबाट साे बराबरकाे रकम कोषमा दिने निर्णय गरीएको हाे । बेलबारी नगरपालिकामा ६० जना जनप्रतिनिधिहरु रहेका छन् ।
यसैगरी अधिकृत छैटोे तह वा सोभन्दा माथिका कर्मचारीको खाइपाइ आएको १५ दिनको तलब र छैटो तहभन्दा तलका कर्मचारीको १० दिनको तलब राहत कोषमा राख्ने निर्णय भएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
नगरपालिकाले यस अघि नै विपद व्यवस्थापन कोषमा १५ लाख जम्मा गरीसकेको छ । एनएमवि बैंक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११ मा सहयोग गरीदिन राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण व्यावसायी, वित्तिय संघसंस्था तथा व्यक्तिहरुलाई नगर कार्यपालिकाले आग्रह गरेको छ ।
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समिति समेत गठन गरीसकेको नगरपालिकाले आर्थिक स्तर कमजोर भएका परिवारलाई परिवार संख्याको आधारमा राहत प्याकेज समेत घोषणा गरीसकेको छ ।
नगरपालिका र जनप्रतिनिधि अभिभावक हुन् भन्ने महशुस गराउन र महामारी भोकमरीमा परिणत नहोस् भनेर राहत कोष स्थापना गर्ने र एक महिनाको सेवा सुविधा दिने निर्णय गरिएको उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।