बेलबारी नगरपालिकाले ४ हजार परिवारलाइ दियो राहत, बिपत व्यवस्थापन काेषमा भयो ६७ लाख
- २८ चैत्र २०७६, शुक्रबार
बेलबारी नगरपालिकाले झण्डै ४ हजार बिपन्न परिवारलाई राहत वितरण गरेको छ ।
एक हप्ताको अबधिमा पहिलो चरण अन्तरगत सबै वडाका गरी ३ हजार ९ सय ४८ परिवारलाई नगरपालिकाले खाद्य सामग्री लगायतको राहत बितरण गरेको हो ।
गत आइतबार वार्ड नं २, ३, ६, ७, १० र ११ मा १७ सयभन्दा बढी परिवारलाई राहत वितरण गरेको नगरपालिकाले अन्य वडामा मंगलबार १२ सय २९ परिवारलाई घर घरमा पुगी राहत बितरण गरेको थियो । मंगलबार वडा नम्बर ८ का ९ सय ५७ परिवारलाई राहत बितरण गरिएको र हालसम्म राहत पाउने परिवार संख्या ३ हजार ९ सय ४८ पुुुुगेको नगरपालिका उपप्रमुख ढाका कुमारी पराजुलीले बताईन् ।
नगरपालिकाले मापदण्डका आधारमा ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन तथा ४ जना भन्दा वढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो नुन, र एक डल्ला साबुन दिएको नगरपालिकाले जनाएको छ ।
टाेल विकास संस्था मार्फत राहत बितरण पाउनेहरुको नामावली छनाैट गरिएकाे र सम्बन्धित पक्षहरूसँग बसेर छलफल समेत गरी राहत पाउनेहरुको अन्तिम नामावली तयार गरिएकोले राहत बितरणमा एकरुपता भएको नगरपालिका उपप्रमुख पराजुलीले जानकारी दिइन् ।
नगरपालिकाका ११ वटै वडाहरुमा पहिलो चरणको राहत वितरणका सकिएको र छुटेका ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका नगरवासीहरुका लागि पहिचान गरी पुनः राहत वितरण गरिने उपप्रमुख पराजुलीले बताइन् ।
६७ लाखभन्दा बढी जम्मा भो नगरपालिकाको विपत व्यवस्थापन काेषमा
नगरपालिकाले विपत व्यवस्थापन काेषकाे स्थापना गरेर नगरको तर्फबाट रु १५ लाख जम्मा गरेकाे थियाे । नगरपालिकाकाे याे विपत व्यवस्थापन काेषमा बिहीबारसम्ममा ६७ लाख ४० हजार ६ सय ९५ रुपैयाँ जम्मा भइ सकेको नगरपालिकाले जनाएको छ ।
बिहीबार नोबेल हस्पिटलका संचालक सुनिल शर्माले नगरपालिकाको बिपत ब्यबस्थापन कोषमा ११ लाख ७५ हजार जम्मा गरेका थिए । त्यसैगरी नेकपा बेलबारी नगरपालिकाले पनि बिहीबार नै ३ लाख १३ हजार ३ सय ५५ रुपैयाँ जम्मा गरेको थियो ।
राहतलाई व्यवस्थित गर्न नगरपालिकामा सर्वपक्षीय समितिकाे निर्माण गरेकाे थियाे । कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिको गत शनिवार बेलबारी नगरपालिकमा बसेको बैठकले आइतवार बिहानदेखि राहत वितरण गर्ने निर्णय गरेको थियो ।
व्यक्तिगत तथा संघसंस्थामार्फत आफू खुसी राहत वाढ्दा दाेहाेरिने, पहुचका भरमा मानिसले राहत पाउन सक्ने संभावना वढेकाे भन्दै नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेकाे छ ।