यस्ता छन् कोरोना नियन्त्रण एवम् जनतालाई राहतका लागि धनकुटाका स्थानीय तहहरुले गरेका काम
- ३ बैशाख २०७७, बुधबार
धनकुटा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न धनकुटाका स्थानीय तहहरुले गरेका काम कारबाही सार्वजनिक गरिएको छ ।
नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले कोरोना भाइरस संक्रमणबाट सृजना भएको विषम परिस्थिति र अहिलेसम्म स्थानीय तहहरुले गरेका कार्यहरुको विवरण सार्वजनिक गरेका हुन् ।
लकडाउनको कारण मारमा परेका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, विपन्न परिवार, दलित, गरिब लगायतका परिवारहरुलाई राहत वितरण गर्न शुरु गरिएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । स्थानीय तहहरुले राहत वितरणको मापदण्ड तयार गरेर राहत वितरण गर्दै आएको स्थानीय तहहरुले बताएका छन् ।
धनकुटा नगरपालिका
धनकुटा नगरपालिकाले नगर क्षेत्रभित्रका २ हजार २ सय ९३ घरधुरीलाई राहत वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए । नगरपालिकाले ३९ लाख ४८ हजार ५ सय २० रुपैयाँ बराबरको दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, तेल, हातधुने साबुन खरिद गरेर वडाध्यक्षहरुको रोहबरमा घर–घर गएर राहत वितरण गरेको उनलेे बताए ।
धनकुटा नगरपालिकाले कारोना भाइरसको संक्रमणलाई आइसोलेसन वार्ड र क्वारेनटाइन निर्माण गर्नको लागि १० लाख रुपैयाँ बिनियोजन गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा कोरोना भाइरस विरुद्धको अभियानलाई सफल बनाउन माइकिङ गर्ने, जनचेतना मुलक व्यानरहरु टाँस जस्ता कार्यहरू गरेको छ । नगरपालिकाले नगर क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, नगर प्रहरीलाई पिपिई लगायतका सामग्री खरिदको लागि ५ लाख रकम विनियोजन गरिएको नगर प्रमुख तामाङले बताए ।
महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिकाले ६ सय १८ घरधुरीलाई १२ लाख बराबरको राहत वितरण गरेको छ । नगरपालिकाले कोरोना भाईरसको संक्रमण रोक्ने अभियान अन्तरगत जनप्रतिनिधिहरुको एक महिनाको सेवासुविधा सहितको ३० लाख बराबरको प्रकोप व्यवस्थापन कोषको स्थापना गरी कार्य गरिरहेको नगरपालिकाकी उपप्रमुख मञ्जु कार्की अधिकारीले बताइन् ।
सो नगरपालिकाले स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई ४० थान पिपिई, ७ हजार थान सर्जिकल मास्क, २ हजार थान सर्जिकल ग्लोब्स र एक थान थर्मगन वितरण गरेको छ । त्यस्तै नगरपालिका क्षेत्रमा १० वेड सहितको क्वारेनटाइन केन्द्र निर्माण गरिएको र अन्य ८ स्थानहरुमा क्वारेन्टाइन केन्द्र तोकिएको उपप्रमुख कार्कीले बताइन् ।
पाख्रीवास नगरपालिका
त्यस्तै पाख्रीवास नगरपालिकाले एक हजार ५ सय घरधुरीलाई ३० लाख बराबरको राहत वितरण गरेको छ । जनप्रतिनिधिहरुको एक महिनाको सेवासुविधा वापतको रकम सहित नगरपालिकाका कर्मचारी र शिक्षकहरुको ५/५ दिनको तलब वापत आउने रकम सहित २० लाख रकम जम्मा गरेर प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको नगर प्रमुख बृषबहादुर राईले बताए । नगरपालिकामा १० वेडको क्वारेन्टाईन केन्द्र स्थापना गरी थर्मगन सहितको हेल्पडेक्स स्थापना गरी कार्य अगाडी बढाएको प्रमुख राईले बताए ।
चौबिसे गाउँपालिका
त्यस्तै चौबिसे गाउँपालिकाले पनि कोरोना भाइरसको संक्रमणको रोकथामका लागि विभिन्न रचनात्मक कार्यहरु गरी रहेको जनाएको छ । गाउँपालिकाले १० वेडको क्वारेन्टाइन स्थापना गरेको छ । सो गाउँपालिकामा विदेशबाट आएका ३३ जना मध्ये स्वास्थ्य परिक्षण गरी २ जनालाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेनटाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।
गाउँपालिकाले लामो समयदेखिको लकडाउनलाई मध्यनजर गर्दै गरिब, विपन्न, मजदुर लगायत एक हजार १ सय घरधुरीको लागत संकलन गरेर राहत वितरणको तयारी गरिरहेको छ । गाउँपालिकाले कोरोना भाइरस सम्बन्धी वडा–वडामा जनचेतना मुलक कार्यक्रमहरु गर्नुको साथै स्वास्थ्यकर्मीहरुलाई ३० थान पिपिई उपलब्ध गराएको जनाएको छ ।
सो अभियानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चौबिसे गाउँ कमिटीले ३ हजार २ सय पिस माक्स गाउँपालिकालाई उपलब्ध गराएको अध्यक्ष राईले बताए ।
गाउँपालिकाको सिमाक्षेत्र ६ नम्बर बुधवारेमा हेल्पडेक्स स्थापना गरी एक हजार ५० जनाको स्वास्थ्य परिक्षण गरिएको जनाएको छ ।
साँगुरीगढी गाउँपालिका
साँगुरीगढी गाउँपालिकाले एक हजार ५० घरधुरीलाई १८ लाख बराबरको राहत वितरण गरेको छ । गाउँपालिकाले जनप्रतिनिधिहरुको १५ दिनको सेवासुविधा र कर्मचारीहरुको सरकारले तोके अनुसारको रकम सहित प्रकोप व्यवस्थापन कोषमा १८ लाख जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाले बताए । आपूर्ति सहजताको लागि अध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको र गाउँपालिका अन्तरगतका ३९ जना स्वास्थ्यकर्मीहरुलाई पिपिई वितरण गरिएको अध्यक्ष याखाले बताए ।
छथर जोरपाटी गाउँपालिका
छथर जोरपाटी गाउँपालिकाले ६ सय ९१ घरधुरीलाई १० लाख ७४ हजार ९५ रुपैयाँ बराबरको राहत वितरण गरेको छ । गाउँपालिकाले १० वेडको क्वारेन्टाइन केन्द्र स्थापना गर्नुको साथै जनप्रतिनिधिहरुको १५ दिनको र कर्मचारीहरुको ३/३ दिनको तलब सुविधा सहित २० लाख रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरी कार्य गरिरहेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।
सो गाउँपालिकाले ७ वटा हेल्पडेक्स स्थापना, ३३ थान पिपिई वितरण, २ हजार थान माक्स वितरण, १४ स्थानमा हात धुने व्यावस्था लगायत गाउँपालिका अन्तरगतका हाटबजार क्षेत्रमा माइकिङ तथा जनचेतना मुलक कार्यक्रम गरी रहेको अध्यक्ष लिम्बूले बताए ।
सहिदभूमि गाउँपालिका
त्यस्तै सहिदभूमि गाउँपालिकाले पनि कोरोना भाइरस विरुद्धको अभियान व्यापक रुपमा संचालन गरी रहेको छ ।
लकडाउनको मारमा परेको विपन्न, गरिब लगायतका ४ सय ३९ घरधुरीलाई १४ लाख बराबरको राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । २१ वेडको क्वारेन्टाईन केन्द्र स्थापना गरी विदेशबाट आएका १८ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिएको अध्यक्ष राईले बताएका छन् । सो गाउँपालिकामा एक जना भारतीय महिलालाई पनि क्वारेन्टाईनमा राखिएको छ ।
सो गाउँपालिकामा २२ थान पिपिई वितरण गर्नुको साथै थर्मगन सहित एउटा हेल्पडेक्स स्थापना गरिएको छ । उक्त अभियानलाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहिदभूमि गाउँ कमिटीले ४० क्वीन्टल चामल, २० कार्टुन तेल र २ सय ५० केजी नुन गाउँपालिकालाई सहयोग गरेको अध्यक्ष राईले बताएका छन् ।
आफु बच्नने र अरुलाई बचाउने अभियानमा सहयोग गर्न धनकुटेलीहरुलाई नेकपाको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा धनकुटाका अध्यक्ष एवम् प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले पार्टीको निर्देशन अनुसार पार्टीको स्थानीय कमिटी र स्थानीय तहहरुले गरेको कामको विवरण आम नागरिक सामु पु¥याउन पत्रकार सम्मेलन गरिएको बताए । राईले कोरोना भाइरसको संक्रमण हुनबाट आफु बच्न र अरुलाई बचाउने अभियानमा सहयोग गर्न आम धनकुटेली नागरिकहरुलाई आग्रह समेत गरे ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख अर्जुन राईले अहिलेको परिस्थिति भनेको कुनै जाति, धर्म, पार्टी लक्षित नभएको र सिंगो मानव जातिको अस्थित्वलाई कसरी बचाउने भन्ने अभियानमा भएकाले पार्टीले कोरोना भाइरसको नियन्त्रणको लागि गरेका हरेक सकारात्मक गतिविधिहरुलाई आम नागरिक सामु पु¥याउन पत्रकारहरुलाई आग्रह गरे ।
सो अवसरमा प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य एवम् विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि प्रदेश सरकारले अहिलेसम्म गरेका पहल र प्रयत्नको विषयमा जानकारी गराउँदै सबैलाई सहयोग गर्न आग्रह गरे । धनकुटाका सबै स्थानीय तहमा नेकपाका मात्रै जनप्रतिनिधि छन् ।