सुन्दरहरैंचामा दुई दिनमै ५९ जनाको कोरोना परिक्षण, कोही देखिएनन् संक्रमित
- ६ बैशाख २०७७, शनिबार
सुन्दरहरैंचा नगरपालिकामा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मार्फत कोरोना परिक्षण शुरु गरिएको छ ।
खासगरी विदेशबाट आएका व्यक्तिलाई प्राथमिकता दिनेगरी यस्तो परीक्षण थालिएको हो । यसअघि पूर्वाञ्चल विश्वविद्यालयमा परिक्षण गरिँदै आएकोमा नगरपालिकाले शुक्रबारदेखि आरडीटीमार्फत कोरोना परीक्षण शुरु गरेको हो ।
प्रदेश सरकारमार्फत् परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री (किट) आएपनि थोरै संख्यामा कीट प्राप्त भएको र थप किटको ब्यबस्था गरी परिक्षणलाई निरन्तरताा दिइने सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले बताए ।स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराई परीक्षण थालिएको नगरप्ररमुख ढकालले जानकारी दिए ।
नगर क्षेत्रभित्र पहिलो चरणमा विदेशबाट आएका २ सय १७ जनाको परीक्षण गरिने छ । त्यसबाहेक कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीहरुको पनि परिक्षण गरिनेछ । सुन्दरहरैंचाभित्र वडा नम्बर १ मा ७ जना, २ मा २३ जना र वडा नम्बर ३ मा ९ जना, वडा नम्बर ४ मा १५ जना, वडा नम्बर ५ मा ६ जना, वडा नम्बर ६ मा ८ जना र वडा नम्बर ७ मा ३१ जना वडा नम्बर ८ मा ३० जना, ९ मा २० जना, १० मा १५ जना, ११ मा ९ जना र वडा नम्बर १२ मा २८ जना बिदेशबाट फर्केका युवा छन् । २ सय १७ जना मध्ये १६ जनाको वडा खुलेेको छैन ।
पहिलो चरणमा आज शुक्रबारदेखि नगरले साबिक सुन्दरदुलारी नगरपालिकाभित्र कोरोना परिक्षण गरिएको थियो । शुक्रबार ३२ जना र शनिबार २७ जनाको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मच्छिन्द्र बस्नेतले बताए ।
शनिबार सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ मा रहेको मुस्लिम बस्तीमा र्यापिड डाइग्नोष्टिक परीक्षण गरिएको छ । शनिबार ४ महिला सहित २७ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
उता, पूर्वाञ्चल विश्वविद्यालयमा हालसम्म जम्मा २ सय २३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १० जनालाई प्रदेश सरकार तथा नेपाली सेनाले तयार गरेको मोरङ टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको बताइएको छ ।