काठमाण्डौंमा बसोबास गर्दै आएका ३ सय जनालाई नि:शुल्क घर ल्याइदियो बेलबारी नगरपालिकाले

  • १४ बैशाख २०७७, आईतवार

बेलबारी नगरपालिकाले बेलबारी नगर क्षेत्रभित्र घर भई काठमाण्डौंमा बसोबास गर्दै आएका ३ सय जनालाई नि:शुल्क घर ल्याइदिएको छ ।

लकडाउनका कारण काठमाण्डौंमा बिचल्ली हुन लागेका घर फर्कन चाहने जनतालाई नगरपालिकाले आइतबार बिहान घर ल्याइ पुर्याएको हो । नगरबासीलाइ घर फर्काउन नगरपालिकाले चारवटा बस ब्यबस्था गरेको थियो । तर आउन चाहनेहरुका लागि ती बस अपर्याप्त भएपछि अर्को थपेर पाँचबटा बसमा सम्बन्धित निकायमा आवश्यक समन्वय गरी नगरबासीहरुलाइ ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार उनीहरूललाइ यातायात र खानपिन गराउने खर्च नगरपालिकाले नै ब्यबस्थापन गरेको थियो ।

अलपत्र अबस्थामा पुगेका नगरबासीहरुलाइ घर फर्काउन राजधानीमा बेलबारी काठमाण्डौं समाजले समन्वय गरेको थियो । समाजका हिरा थापा मगर र बद्री राजबंशीको समन्वयबाट नाम संकलन गरी आउन चाहनेहरुको टुंगो लगाइए पनि नगरपालिका र वडा कार्यालय मार्फत सम्पर्कमा आएकाहरुलाइ पनि घर फर्काइएको नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन् ।

काठमाण्डौंमा शनिबार भेला भएर आएका सबैजना आइतबार घर पुगेका छन् । उनीहरूलाई थर्मगन मार्फत ज्वरो चेक गरी सम्पर्क नम्बर समेत लिएर १४ दिनसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्ने र कुनै समस्या आए सम्पर्क गर्ने शर्तमा घर पठाइएको बताउँदै उपमेयर पराजुलीले भनिन् ” क्वारेन्टाइनमा बसे नबसेको निगरानी गर्दै नगरपालिका नियमित अनुगमन गर्नेछ ।”