पत्रकारहरुको लकडाउन अनुभव : तिन तहकै सरकारले उपेक्षा गरे, ज्यानको बाजी थापेर काम गर्नुपरेको छ
अम्बिका भण्डारी
- १५ बैशाख २०७७, सोमबार
सञ्चार क्षेत्रप्रति तीन तहकै सरकारहरु संबेदनशील नदेखिएको कारण लकडाउन अबधिमा खासगरी ग्रामीण क्षेत्रमा रहेर कृयाशील रहँदै आएका सञ्चारकर्मीहरु निष्क्रिय बनेका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गरिएको लकडाउनले तीन हप्ता नाघिसकेको छ । तर पत्रकारका लागि न त कुनै निकायले पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री नै उपलब्ध गराएको छ, न जोखिम बहन गर्न बिमा नै गरिएको छ । पत्रकारहरुले खट्दा पारिश्रमिक पाउने ग्यारेन्टी त छैन नै, त्यसमा पनि खासगरी प्रदेश र स्थानीय सरकारहरुले पत्रकारहरुलाइ कोरोना महामारीको अवस्था, संक्रमण तथा उपचार अबस्थाबारे फिल्डमै खटिन प्रेरित गरेका छैनन् । अर्कोतिर सहजै सवारी पास उपलब्ध नहुने, परिचय दिँदा पनि सुरक्षाकर्मीहरुको अबरोध हुने जस्ता कारण पनि धेरै सञ्चारकर्मीहरु फिल्डमा देखिन अनिच्छुक हुँदै ‘होम क्वारेन्टाइन’ मा बस्न बाध्य छन् । आसपासका स्थानीय तहको तुलनामा धेरै पत्रकारहरु रहेकोे मोरङको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली खासगरी स्थानीय क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य सुरक्षा र जोखिम बहनका लागि केही गर्नुपर्छ भन्ने सोच भएपनि हालसम्म ठोस योजना बनाउन नसकिएको बताउँछिन् ।
यसै सन्दर्भमा कसरी बितिरहेको छ त लकडाउन ? अनि राज्य जिम्मेवार छ कि गैर जिम्मेवार ? प्रस्तुत छ प्रतिनिमुलक रूपमा केही पत्रकारहरुको अनुभव :
महामारी विरुद्ध जुट्न कुनै निकायले समन्वय गरेनन्
भक्तशेर लिम्बु – सम्पादक- उज्यालो प्रदेश
तीन तहकै सरकारहरुले सञ्चारकर्मीहरुलाई प्रेरित गर्न कन्जुस्याइँ गरे । त्यसमा पनि स्थानीय तहहरुले महामारी विरुद्ध जुट्न समन्वय नगरेका कारण पनि घरमै बस्ने निर्णय गरेको छु ।
अग्र भागमै रहेर फिल्डमा खटिनुपर्ने सञ्चारकर्मीहरुले न त स्वास्थ्य सुरक्षा सामग्री दिइएको छ, न त बिमा नै । त्यसैले कृषि र घरायसी काम गर्दै इमेल, म्यासेज तथा अन्य माध्यमबाट प्राप्त सामग्री तथा समाचारहरु अनलाइनमा अपडेट गर्ने र फिल्डमा खटिएका साथीहरू वा सम्बन्धित निकायबाट सुचना लिएर समाचार सम्प्रेषण गर्ने काम गर्दै आएको छु ।
लकडाउनपछि समाचार संकलनका लागि पहिले जस्तो फिल्डमा निस्केको छैन । गाउँ घरमै बसेर गर्नुपर्ने केहि सामाजिक काम गरेपनि आफ्नो खेतीपाती, घेराबारा जस्ता काम गर्दै क्वारेन्टाइनबाट नै सञ्चारकर्मीको भुमिका निर्वाह गरिरहेको छु ।
कोरोनाबाट स्वास्थ्यकर्मी,सञ्चारकर्मी र सुरक्षाकर्मी सबैभन्दा बढी जोखिममा छन्
नरेन्द्र बस्नेत (सम्पादक बेतना दैनिक,पूर्वेली न्युज )
विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) का कारण यतिबेला विश्व नै आक्रान्त बनेको अबस्था छ । २०७६ चैत ११ गतेदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालमा समेत बन्दाबन्दीको अबस्था छ । बन्दाबन्दीका कारण दैनिक जनजीवन कष्टकर बनेको छ । अझ सञ्चारकर्मी भएको नाताले हाम्रो जनजिवन सहज बन्ने कुरै भएन ।
बन्दाबन्दीका समयमा थप जिम्मेवारी बढेको महशुस भएको छ । फिल्ड रिपोर्टिङको समय थप बढाईएको छ । दैनिक कम्तिमा १८ घण्टाका दरले नियमित खटिएको अबस्था छ । बन्दाबन्दीका कारण आफु र परिवार भन्दा पनि समाजको चिन्ता बढी छ । पलपलका अपडेटका लागि भ्याईनम्याईको अबस्था छ । बन्दाबन्दी अघि कार्यलयबाट मात्र काम गर्ने गरिन्थ्यो । अहिले घरमा समेत अस्थायी कार्यलय खडा गरिएको छ । ग्रामिण क्षेत्रका सुचना संकलनदेखि रिपोर्टिङ र सम्पादन समेत गर्नुपर्ने अबस्था छ ।
दैनिक सुनसरीको ईटहरीदेखि झापा सम्म फिल्ड रिपोर्टिङलाई निरन्तरता दिएको अबस्था छ । यो समयमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जति खटिएका छन त्यो भन्दा पनि सञ्चारकर्मी बढी खटिएका छन । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको बिमा सहित सरकारी तलब र सुबिधा छ तर सञ्चारकर्मीको अहिलेसम्म केही छैन । तरपनि सञ्चारकर्मीहरु खुकुरीको धारमा जीवन राखेर सुचना प्रबाहमा निरन्तर खटिएका छन । अझ ग्रामिण क्षेत्रमा झनै समस्या रहेको छ ।
चुनावका बेला गुलिया नारा लगाउँदै यो र त्यो गर्छु भन्दै गाँउसम्म आउने सञ्चारकर्मीका नेताहरु चुनावसँगै बाचाहरु बिर्सिन्छन र बिराटनगर बाहिर पनि पत्रकार छन,त्यहा पनि मिडिया र मिडियाकर्मी छन र ? भन्नेजस्ता ब्यबहार गर्छन । उनीहरु के गर्दैछन ? उनीहरुको अबस्था के छ ? कस्तो अबस्थामा छन ? भन्ने कुरा बुझेको जसतो लागेको छैन । न त बिमा लगायत कुनै सुबिधा छ,न त अन्य कुरा नै छ । धुलो समेत नछेक्ने एउटा सामान्य माक्सको भरमा पत्रकारहरु दिनरात नभनी,आफु र परिवारको समेत प्रबाह नगरी फिल्डमा खटिएको अबस्था छ ।
नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलय, प्रदेश १ शाखा, जिल्ला शाखा लगायत कुने संगठनले अहिलेसम्म पत्रकारको अबस्था के छ र पत्रकारहरु के गर्दैछन भन्ने खोजी खबरी गरेको छैन । नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यलयले बिराटनगर बाहिर पथरी र उर्लाबारीका पत्रकारलाई माक्स,सेनिटाईजर,पञ्जा लगायतका सामाग्री बाँडयो भन्ने खबर सामाजिक सञ्जालमा देखियो तरपनि बेलबारी,केराबारी, सुन्दरहरैचा, लेटाङ, कानेपोखरी लगायतका क्षेत्रमा रहेको पत्रकारहरुको खोजीनिति गरिएन । यहाँभन्दा ठुलो बिभेद के हुन्छ होला र ? नेपाल पत्रकार महासंघ मोरङले त चुनावमा बाहेक अरुबेला बिराटनगर बाहिरका पत्रकारहरुलाई खासै खोजी गरेको अबसथा छैन । यस्तो अबस्थामा पत्रकारका छाता संगठनले केही कार्यक्रम र योजना ल्याउनुपर्दथ्यो तरपनि त्यसो भएन ।
मुलुक संघियतामा गएपछि सिंहदरबार गाँउगाँउमा आँउछ र सबै सेवासुबिधा स्थानीय तहबाटै प्राप्त हुन्छ भन्ने बुझाईमा रहेका हाम्रा लागि त्यो बुझाई गलत साबित भयो । स्थानीय निकायले आफना निकट बाहेकलाई सदैव सौतेनी ब्यबहार गरिरहेको छ । उनीहरुका लागि कुनै प्याकेज अहिले सम्म दिएको छैन । यस्तो बिषम परिस्थितिमा हत्केलामा ज्यान राखेर हिँडेका सञ्चारकर्मीहरु दैनिक त्यहि स्थानीय निकायको प्रचार र प्रसार गरिरहेका छन तरपनि स्थानीय निकाय कानमा तेल हालेर बसेको छ । आफना तस्विर र बढाईचडाईका समाचार आए खुसी हुने बास्तविकता बाहिर आए पख्लास भन्ने ईगोका कारण सञ्चारकर्मीहरु प्रताडित रहेको अबस्था छ । यस्तो बिषम परिस्थितिमा छाता संगठन र स्थानीय निकायले समेत सञ्चार क्षेत्र र सञ्चारकर्मीका लागि केही सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
राज्यले मिडियाकर्मीलाई उपेक्षा गरेकाे छ
– केशु विरही, मकालु टेलिभिजन /पुर्वेली डटकम
काेरानाले अाज विश्न नै अाक्रान्त भैरहेकाे छ । यस्ताे विषम परिस्थितिमा पनि मिडियाकर्मीहरु ज्यान जाेखिममा राखेर सत्यतथ्य सूचना बाहिर ल्याउने कार्यमा तल्लीन छन् ।
स्वास्थ्यकर्मी तथ सुरक्षाकर्मीजतिकै फ्रन्टलाईनमा रहेर सूचना संप्रेषण गर्ने मिडियाकर्मीकाे पनि राज्यले सुरक्षा जाेखिमकाे वहन गर्नु पर्थ्याे । विमा गरिदिनु पर्थ्याे तर त्यस्ताे केही भएन । यदि राज्य आफू एक्लैले त्याे जिम्मेवारी लिन नसक्ने भए सम्बन्धित मिडिया हाउसलाई केही प्रतिशत दायित्व दिएर भए पनि गर्नु पर्थ्याे त्याे गर्न सकेन । सङ्घीय सरकाले त गरेन गरेन, प्रदेस तथा स्थानीय सरकारले समेत केही नगर्दा चाहिँ साह्रै दुख लागेकाे छ । अरु सुबिधाको त के कुरा, स्थानीय सरकारले सञ्चारकर्मीहरुको लागि मास्क र सेनिटाइजरसम्म पनि उपलब्ध गराउन सकेनन् ।
आफूले अभिभावक ठानेकाे संस्था पत्रकार महासंघले समेत के छ, याे विषम परिस्थितिमा कसरी रिपाेटिङ गर्दै हुनुहुन्छ भनेर साेध्न समेत नभ्याउँदा चाहिँ साह्रै मन दुखेकाे छ ।
आफ्नाे जिम्मेवारी हाे भन्ने ठानेर सुरक्षा सामग्री विनै फिल्डमा ज्यान जाेखिममा राखेर भए पनि काम गरिरहिएकाे छ । लकडाउनका कारण जनता पीडामा छन् । यस्ताे बेलामा जनताले बढी आशा गर्ने भनेकै मिडियासँग हाे । उनीहरु आफ्नाे पीडा मिडियाले सम्बन्धित निकायमन पुर्याईदिए हुन्थ्याे भन्ने ठान्दछन् । अहिले जनतालाई अापदमा परेकाे बेलामा केही गर्न सकिएन भने भाेलि प्रेस कार्ड लिएर म पत्रकार हुँ भनेर विभिन्न कार्यक्रमा गएर क्यामरा ठड्याउनुकाे के अर्थ र ? यही जिम्मेवारीबोध्ले गर्दा आफ्नाे ज्यानको वारेमा मात्र साेचेर घरमै लुकेर बस्न सकिएन ।
हुन त आफ्नाे स्वास्थकाे वारेमा साेच्ने आफैले हाे । तसर्थ सामान्य मास्कको भरमा सुरक्षित हुने प्रयास गर्दै सामाजिक दुरी कायम गरेर नै रिपाेटिङ गरिरहिएकाे छ ।