जनताको घरघरमा हरियाे तथा ताजा तरकारी पुर्याएर समाजसेवा गदै कर्जुनाका युवाहरु 

  • २२ बैशाख २०७७, सोमबार

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ विकृत राजनीतिका कारण युवाहरुमा समाजसेवाप्रति विकर्षण भैरहेकाे बेला मोरङको सुन्दरहरैंचा नगरपालिका -११, कर्जुनाका युवाहरु जनताको सेवामा क्रियाशील रहँदै समाजमा परिचित हुने काममा सक्रिय भएका छन् ।

सुन्दरहरैंचा -११, कर्जुनाका विनाेद भट्टराई, यादव पाैडेल, अनिल पाैड्याल, सागर लुईटेल लगायतका एकदर्जनजति युवाहरु लकडाउनको अबधिमा जनताको सेवा गर्दै समाजसेवामा क्रियाशिल भएका हुन् । विभिन्न पेसा व्यवसायमा सक्रिय यी युवाहरुको दैनिकी लकडाउनले वदलिदिएकाे छ । लकडाउनकाे समयलाई समाजसेवामा खर्चिरहेका उनीहरु बिहान सखारै उठ्छन, समूह बनाएर उनीहरु किसानका बारीमा पुग्छन र हरियाे तरकारी खरिद गर्छन् र प्याकेजिङमा लाग्छन् । यसरी प्याकेजिङ गरिरहँदा केही युवाहरु भने तरकारी लिएर घरघरमा पुगिसकेका हुन्छन् ।

सशुल्क रुपमा भए पनि आफूहरुले नाफामुखी नभई सेवामुखी भावले सुन्दरहरैंचा भरिका नागरिकलाई ताजा तथा हरियाे तरकारी पुर्याएकाे सुन्दरहरैंचा ११ कर्जुनाका विनाेद भट्टराई बताउँछन् ।

सुन्दरहरैंचा ११ कर्जुनाकै अर्का युवा यादव पाैडेल लकडाउनले आफूहरुलाई समाजसेवातर्फ लाग्न प्रेरित गरेकाे बताउछन् ।

आफूहरुलाई लाई समाजसेवामा लाग्न नगरपालिकाकाे पनि उत्तिकै हात रहेकाे उनीहरु बताउँछन् । नगरबासीका घरघरमा हरियाे ताजा तरकारी पुर्याउनका लागि भनेर नगरपालिकाले सवारीसाधन र त्यसवापद लाग्ने ईन्धनकाे समेत व्यवस्था गरिदिएकाे छ ।

स्थानीय कमल बहादुर लिम्बू यसरी घरघरमा ताजा तथा हरियाे तरकारी पाउँदा मख्ख छन। विपत्तिले युवाहरुलाई समाजसेवाकाे पाठ पढाएकाे उनकाे मत रहेकाे छ ।

यसरी घरघरमै आएकाे हरियाे तरकारी ताजा मात्र नभएर बजारभन्दा सस्ताे पनि भएकाे, यसले गृहिणीलाई झनै सहयाेग पुगेकाे कर्जुनाकी माया खड्काकाे मत रहेकाे छ ।

विकृत राजनीतिका कारणले युवाहरुकाे समाजससेवाप्रति विकर्षण भैरहेकाे परिप्रेक्षमा सुन्दरहरैंचा ११ कर्जुनाका यी युवाहरुबाट अरुले पनि धेरै कुरा सिक्नु जरुरी देखिन्छ ।