लिपुलेक अतिक्रम विरुद्ध सडकमा उत्रिए बेलबारीका युवाहरु, बिराटचोकमा जलाइयो मोदीको पुत्ला

  • २९ बैशाख २०७७, सोमबार

नेपाली भूमी मिचेको क्षेत्र लिपुलेक हुँदै भारतले चीनको मानसरोवर जाने सडक निर्माण गरेको विरोधमा बेलबारीका युवाहरुले विरोध प्रदर्शन गरेका छन्  ।

विभिन्न संघ संस्थामा आबद्द युवाहरुले स्वतस्फूर्त रूपमा बेलबारीमा  बिरोध प्रदर्शन गरेका हुन् । आईतबार गरिएको बिरोध प्रदर्सनका क्रममा युवाहरूले बेलबारीको दुर्गा मन्दिरदेखि मालपोत मोडसम्म अतिक्रम विरुद्ध नाराबाजी गर्दै र्याली गरेका थिए ।

५० भन्दा बढि युवाहरुले नेपाली झण्डा सहित गो ब्याक ईन्डिया, लिपुलेक, कालापानी हाम्रो हो, भारतिय बिस्तारवाद मुर्दावाद, सिमा मिच्न पाईदैन लेखेको प्ले कार्ड बोकेर नारावाजी गरेका थिए ।

र्यालीपछि कोणसभा पनि गरिएको थियो । कोणसभालाई केदार धिमाल, अशोक राई, सुजित बस्नेत, उषा तामाङ, ऋषि राई आदिले सम्बोधन गरेका थिए । उनीहरुले भारतले नेपाली भुमी मिच्दा समेत नेपाल सरकार मुकदर्शक भएर बसेको भन्दै  रोष प्रकट गरे ।

आयोजकहरुको तर्फबाट कार्यक्रम संयोजक ऋषि राईले आन्दोलन गर्नु रहर नभएर बाध्यता भएको र भारतिय पक्ष यस्तै हस्तक्षेप गरिरहे यो भन्दा शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

त्यसैगरी नेपाल तरुण दल सुन्दरहरैचाको आयोजनामा मोरङको सुन्दररहरैचास्थित बिराटचौकमा आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने क्रममा प्रहरी र तरुण दलबिच घम्साघम्सी भएको छ ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै सडकमार्ग बनाएको र लिम्पियाधुराबाट निस्किने (कुटियाङ्दी) महाकाली नदी पूर्वको करिब ४०० किलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेको भन्दै सो कार्यको बिरोधमा तरुण दलले बिरोध र प्रर्दशन गरेको थियो ।
तरुण दल सुन्दरहरैचाका सभापति प्रकाश श्रेष्ठको अगुवाईमा भएको बिरोध प्रर्दशन र पुत्ला जलाउने क्रममा शसस्त्र प्रहरीले कार्यक्रम बिथोल्ने क्रममा भागाभाग भएको थियो ।
कार्यक्रममा शसस्त्र प्रहरीले बल प्रयोग गरेको भन्दै तरुण दलले बिरोध जनाएको छ । यसअघि शनिबार नेपाल बिद्यार्थी संघ मोरंगले बेलबारी र आईतबार बिहान पथरीमा बिरोध कार्यक्रम आयोजना गरेको थियो ।