लकडाउन शुरु भएयता ९ हजार भन्दा वढी बिपन्न परिवारलाई बेलबारी नगरपालिकाले दियो राहत

  • २ जेष्ठ २०७७, शुक्रबार

बेलबारी नगरपालिकाले लकडाउन शुरु भएयता डेढ महिनाको अबधिमा ९ हजार भन्दा वढी घरपरिवारलाई राहत बितरण गरेको छ ।

नगरपालिकाले हालसम्म ९ हजार १ सय ९८ जना परिवारलाई राहत वितरण गरेको हो । नगरपालिकाका ११ वटै वडामा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नगरपालिकाले वडा कार्यालयमा राहत सामग्री बुझाएको थियो भने वडा कार्यालयले घरघरमा लगेर बाँडेका थिए । भिडभाड हुन नदिनका लागि घरघरमा राहत वितरण गरिएको नगर प्रमुख सुवेदीले बताए ।

नगरपालिकाले चार जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र १ डल्ला साबुन वितरण गरेको छ । त्यस्तै ५ जनाभन्दा बढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो नुन र एक डल्ला साबुन बितरण गरेको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा करिब  ४ हजार परिवारलाई राहत बितरण गरेको नगरपालिकाले पछिल्लो चरणमा थप परिवारलाई राहत दिइएको थियो ।