कोरोनाबाट गाउँलाई जोगाउन जुर्मुराए टोलबासी, लालभित्तिका बासिन्दाले गाउँलाइ गरे शिल

  • १० जेष्ठ २०७७, शनिबार

कोभिड १९ बाट अरुले हैन, आफैंले मात्र आफुलाई बचाउन सकिन्छ भन्ने निष्कर्ष सहित मोरङको बेलबारी- २, लालभित्तीमा रहेको सूर्योदय सामाजिक संस्थाले आफ्नो टोललाइ शिल गरेको छ ।

शुक्रबार अर्थात जेठ ९ गते भएको संस्थाको बैठकले सो निर्णय गरेको हो ।  बैठकले पुर्व पश्चिम राजमार्गबाट सहारा मार्ग र प्रगति मार्गमा अपरिचितका लागि प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।  त्यसैगरी संस्थाको बैठकले ३१ सदस्यीय महिला निगरानी समूह र ३१ सदस्यीय युवा निगरानी समूह निर्माण गर्ने निर्णय गरेको टोल बिकास संस्थाका सल्लाहकार जेवी थुलुङले जानकारी दिए ।

आफु र आफ्ना नानीहरूलाई हरेक घण्टामा हात धुने र धुवाउने, अनावश्यक भीडभाड र खेलकुदलाई रोक्ने, व्यवसाय तथा रोजगारी गर्ने स्थानीयलाई मास्क, पञ्जा र स्यानिटाइजरको अनिवार्य प्रयोग गराउने निर्णय समेत गरिएको छ ।

राजमार्ग किनारमै रहेको यो टोलमा बाहिरका मानिसहरुलाई प्रवेश गर्न नदिन प्रवेश गर्ने स्थानहरुमा ढाट लगाइएको छ भने ठाउँ ठाउँमा हात धुने स्टेसन समेत बनाइएको छ ।

सामाजिक अर्थात भौतिक दूरी कायम गर्दै २ दर्जन बढी स्थानीयको उपस्थितिमा भएको बैठकको अध्यक्षता संस्थाका अध्यक्ष पुर्ण माझी र संयोजन सल्लाहकार जे वी थुलुङले गरेका थिए ।