सहकारी संस्थाहरुको आयोजनामा केराबारीमा रक्तदान, १ सय १८ प्रिन्ट रगत संकलन

  • ३२ जेष्ठ २०७७, आईतवार

केराबारीका सहकारी संस्थाहरुको संयुक्त आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा १ सय १८ जनाले रक्तदान गरेका छन् ।

बिश्व रक्तदाता दिवसको अबसरमा आइतबार अर्थात जेठ ३२ गते भएको रक्तदान कार्यक्रममा १ सय १८ प्रिन्ट रगत संकलन भएको हो ।

केराबारी गाउँपालिकास्थित खदम हिल बचत तथा ऋण सहकारी, आयात बचत तथा ऋण सहकारी, नव पाइला बचत तथा ऋण सहकारी, सामुदायिक बचत तथा ऋण सहकारी र नारी बिकास बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ९३ पुरुष र २५ महिला गरी १ सय १८ जनाले रक्तदान गरेको आयोजकले जनाएका छन् ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा केराबारीका स्थानीय बासिन्दा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता थियो । केराबारी चोक नजिकै रहेकोे खदम हिल साकोस परिसरमा भएको रक्तदान कार्यक्रम कोरोना भाइरसको महामारी विरुद्ध अपनाउनुपर्ने साबधानी र सुरक्षा उपायहरू अपनाइएको र निकै ब्यबस्थित देखिन्थ्यो ।

रक्तदान कार्यक्रमलाई ब्यबस्थित बनाउन खदम हिल साकोसका संचालक समिति सदस्य गोकुल बहादुर थापाको संयोजकत्वमा ५ वटै संस्थाका प्रतिनिधिहरु सम्मिलित ५ सदस्यीय समिति गठन भएको थियो । जसमा सामुदायिक साकोसबाट बिन्दा श्रेष्ठ, नारी बिकास साकोसबाट मनुषा घिमिरे, नवपाइला साकोसबाट चन्द्र मगर र आयात साकोसबाट रुद्र बहादुर खत्री सदस्य थिए ।

कोरोना भाइरसको महामारी र लकडाउनको असहज अबस्थामा हुने रगत अभावलाई न्यून गर्ने मुख्य उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तदानलाई ब्यबस्थित गर्न गठित समितिका संयोजक गोकुल बहादुर थापाले बताए ।