होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा पनि बस्न पाउने भए इटहरीबासीले

  • ८ श्रावण २०७७, बिहीबार

इटहरीमा अव होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा समेत वस्न पाइने भएको छ ।

कोभिड नियन्त्रण रोकथाम र क्वारेण्टिन संचालन तथा ब्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि, होटल ब्यवसायी, स्वास्थ्यकर्मी समेत सहभागी वैठकले सरकारको होम क्वारेण्टिन सम्वन्धी मापदण्ड २०७७ अनुसार घरैमा सेल्फ क्वारेण्टिनमा वस्न सकिने निर्णय भएको हो ।

होम क्वारेण्टिनमा वस्न वडा कार्यालयको सिफारिस अनिर्वाय गरिएको छ । यसैगरी खाना र आवासका लागि न्यूनतम शूल्क लिने गरी तोकिएका होटलहरुमा पनि वस्न सकिने निर्णय गरिएको छ । होम तथा होटल क्वारेण्टिनमा वसेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ परामर्श र परीक्षण सेवा इटहरी उपमहानगरले उपलब्ध गराउने छ ।

उपमहानगरले कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न उपमहानगरवासीलाई आग्रह गरेको छ । अनिवार्य माक्स लगाउन, सेनिटाइटर प्रयोग गर्न र दुरी कायम गर्न पनि आग्रह गरेको छ ।