प्रदेश १ मा समुदाय स्तरमै फैलिन थाल्यो कोरोना, मोरङका स्थानीय तहहरुले गरे लकडाउन
- २३ श्रावण २०७७, शुक्रबार
पछिल्लो पटक प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २४ जना छन् भने सुनसरीमा १९ सहित प्रदेश १ मा ६६ जना संक्रमित थपिएका हुन् ।
यस्तै, इलाममा १५ जना र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र १० महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, बेलबारीमा २ र रंगेलीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरि, सुनसरीको धरानमा ११ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ भने इटहरीमा ४ र पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष र १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा बिहीबारसम्म १२ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ९०५ जना उपचारपछि कोरोनामुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच मोरङको केराबारी, सुन्दरहरैंचा, बेलबारी, उर्लाबारी लगायतका स्थानीय तहहरुले लकडाउन घोषणा गरेका छन् । साउन २२ गते अर्थात बिहीबार राति १२ बजेदेखि यी स्थानीय तहहरुले साउन भरका लागि लकडाउन गरेका हुन् । यसअघि इटहरी र बिराटनगरमा लकडाउन घोषणा भइसकेको छ ।