पुर्पक्षका लागि जेल गए केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने ‘भाले’

  • ४ भाद्र २०७७, बिहीबार

मोरङ केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने मान्छेलाइ अदालतले पुर्पक्षका लागि जेल पठाइदिएको छ ।

खुकुरी प्रहार गर्ने केराबारी १० का ३४ वर्षे भवन ठकुरी (भाले) लाई जिल्ला अदालत मोरङले मंगलबार पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले ठकुरीलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि  ठकुरी विराटनगरस्थित मोरङ कारागार चलान भएका छन् ।

गाउँपालिकाले लगाउने पटके कर ठेक्काको म्याद नथपेको भन्दै ठकुरीले अध्यक्ष कार्कीमाथि साउन २ गते गाउँपालिको कार्यालयमै  आक्रमण गरेका थिए । ठकुरीले शुरुमा आफैंले ल्याएको चक्कु र पछि सेक्युरिटी गार्डको खुकुरी खोसेर प्रहार गरी अध्यक्षलाइ घाइते बनाएका थिए । आर्थिक वर्ष २०७६/०७७  को असार मसान्तसम्म पटके सवारी कर उठाउने ठेक्का ठकुरी आवद्ध खदम कन्स्ट्रक्सनले पाएको थियो ।

असार १२ उक्त ठेक्का केरावारी गाउँपालिका आफैले गर्ने सूचना  प्रकाशित गरी साउन १ गतेबाट ठकुरीको ठेक्का सम्झौता सकिएपश्चात गाउँपालिकाले आफैले पटके कर उठाउन थालेको थियो । लकडाउनका कारण घाटा भएको भन्दै ठकुरीले म्याद थप गर्नुपर्ने माग गरेका थिए । तर म्याद थप नभएपछि आक्रमण भएको थियो ।