जनसहभागिताबाटै पुनर्निर्माण भो धनकुटाको ऐतिहासिक महेन्द्र पार्क
- १ मंसिर २०७७, सोमबार
काम गर्न चाहनेहरूका लागि न त सरकारी सहयोग चाहिन्छ न त उपभोक्ता समिति नै । त्यसको एक उदाहरण बनेको छ धनकुटाको महेन्द्र पार्क पुनर्निर्माण ।
केही समय अघि अमेरिका निवासी दुर्गा पोख्रेलले “धनकुटा बोल्छ” को दोस्रो संस्करणका लागि लेखक ठाकुरप्रसाद बराललाई पठाइदिएको ५० हजार रुपैयाँलाई पार्क निर्माणका लागि खर्चने निर्णय भएसंँगै अन्य सहयोग समेत जुटेपछि पूर्णतः क्षतविक्षत अवस्थामा रहेको महेन्द्र पार्कले नयांँ अनुहार पाएको हो । 

लेखक वरालको पहलमा वार्ड कार्यालय मार्फत समिति पनि बनाइए पनि त्यो समिति सक्रिय भएन । त्यसपछि लेखक वरालले केही साथीहरूको सल्लाह लिदै आफ्नो काम थाले र सफलता पनि पाए ।
धनकुटाको सल्लेरीको सिरानमा भग्नावशेषका रूपमा रहेको सो पार्कलाई स्थानीय नागरिकहरूले उनीहरूकै सक्रियता र पहलमा हालै पुनर्निर्माण गरेका छन् । सो पार्कलाई स्थानीय मानिसहरू महेन्द्र पार्कका नाममा चिन्दछन् । वि सं २०१२ सालमा तत्कालीन धनकुटा गौंडा प्रशासनले बैज्ञानिक शैलीमा मिलाएर खुल्ला सभा हल निर्माण गरेको थियो ।
वि सं २०१३ सालमा तत्कालीन राजा महेन्द्र धनकुटा दौडाहा गर्ने तयारीको शिलशिलामा धनकुटाको ज्योतिका रूपमा रहेको धनकुटा इन्टर कलेज समेत उद्घाटन गर्दै बजार परिक्रमा गरि मूलघाटको बाटो हुँदै धरानतर्फ झर्दा रमितेमा पुगि ओलाङचुङ गोला सम्मको सडक निर्माण गर्न शिलान्याश गरेका थिए । राजा महेन्द्र धनकुटा दौडाहाका शिलशिलामा यो पार्कमा आफ्ना मन्त्रीहरूले समेत विश्राम लिएका थिए ।

महेन्द्र पार्कमा राजा बीरेन्द्र तथा राजपरिवारका अन्य सदस्य, पूर्व राजा ज्ञानेन्द्र लगायत विभिन्न मुलुकका राजदूतहरू पनि घुम्न पुगेको सो पार्कको रमणीयताबाट आकर्षित भएको स्थानीय बुढापाकाहरू बताउँदछन् ।
सो पार्क द्वन्द्वका कारण पूर्ण रूपमा क्षतविक्षत भएको र अवशेषसम्म पनि निमिट्यान्न हुन लागेको अवस्थामा लेखक ठाकुरप्रसाद बरालको अगुवाइ र संयोजन, पत्रकार राजेश्वरबहादुर श्रेष्ठ, मूर्तिकार श्रीकृष्ण श्रेष्ठ र शहीदपुत्र मनोजनारायण श्रेष्ठ समेतको सक्रियतामा सो पार्कको पुनर्निर्माण भएको छ ।
सो कार्यका लागि अमेरिका रहेकी डा. दुर्गा पोख्रेलले ५० हजार, मिलन दाहालले २५ सय ,ज्योतिराम पोख्रेलले ५ हजार, चन्द्रदिप यादवले १ हजार, नरेन्द्रजङ्ग वस्नेतले ५ हजार, जापान रहेका सोमन्त घिमिरेले , ५ हजार ५ सय ४५, डा. तीर्थप्रसाद मिश्रले २५ हजार, पिताम्बर भट्टराईले ५ हजार ५ सय ४५, सीताराम पराजुलीले ५ हजार ५, लोकेन्द्र रायाले २५ हजार, धरान निवासी रूद्रप्रसाद पोख्रेलले ११ हजार १ सय, बेलायत रहेका विश्वासदिप तिगेलाले ५ हजार १ र डा. गोपालबहादुर भट्टराईले ५ हजार ७ सय गरी १३ जनाले १ लाख ५१ हजार ४ सय २ रुपैयाँ सहयोग गरेका थिए ।
त्यसैगरी द्रोणप्रसाद गुरागाईले १० हजार १ सय २० रुपैयाँ बरावरको चून र ज्ञानबहादुर थापाले ५ हजार बराबरका गेट निर्माणका लागि निर्माण सामग्री उपलव्ध गराएका थिए । सो पार्क निर्माणका लागि आवश्यक पर्ने सुर्कीका लागि अधिवक्ता नारायणजुन राईले ५० हजार बराबरका इट्टाका टुक्रा सहयोग गरेका थिए ।
सो पार्क पुरानै प्रविधि चून, सुर्की इटाको प्रयोग गरि पुनर्निर्माण गरिएको छ ।
कतिपय युवालाई पुरानो प्रविधिको ज्ञान दिलाउन, इतिहासको संरक्षण गर्न, सो प्रविधिलाई प्रोत्साहन गर्न र आम सहभागिताबाट मात्र पनि कतिपय कार्य गर्न सकिन्छ । राम्रो काम जनताले मात्र पनि गर्न सक्छन् भन्ने कुराको उदाहरणका रूपमा प्रस्तुत गर्न यो कार्य गरिएको कुरा पार्क निर्माण संयोजनकर्ता लेखक ठाकुरप्रसाद बरालले बताए ।
सो पार्कमा पुनर्निर्माण भएपछि स्थानीय पर्यटकहरूको चहल पहल बढेको छ । धनकुटेलीहरू यस पार्कलाई धनकुटाको पहिचान, गौरव तथा शानका रूपमा मान्दछन् र पुनर्निर्माण भएपछि खुसी भएका छन् ।
अब पार्कलाई आकर्षक बनाउन थप कार्य पनि गरिने छ र सरकारी वन क्षेत्र समेत त्यही भयेकोले वातावरणमा कुनै असर नपर्ने गरि वनलाई पनि फाइदा पुग्ने कार्यहरू पनि गरिने निर्माणमा सहयोगी लेखक बरालले बताए ।







































































