• ११ मंसिर २०७७, बिहीबार

विराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरेपछि मृत्यु भएका युवकको अन्तिम संस्कार गर्ने बेला पेट चिरेको देखिएपछि चिताबाट शव उठाइएको छ ।

अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएको बताएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो । त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् ।

टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको पेटमा पाँच टाँका लगाएको भेटिएको छ । अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा उपचारको लागि भर्ना गरेकोमा शुक्रबार उनको टाउकोको शल्यक्रिया भएको थियो ।

शल्यक्रियापछि शनिबार नै उनको मृत्यु भएकोमा अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै तीन दिनसम्म रोकेर राखेको थियो । स्थानीयले पुनः चन्दा उठाएर उपचार खर्च दिएपछि सोमबार साँझ मृतकको लिएर आफन्त केराबारी पुगेका थिए । राति करिब ८ बजे चितामा राखेर आगो लगाउनुअघि कपडा खोल्दा पेटमा प्वाल देखिएको स्थानीय राम कार्कीले जानकारी दिनुभयो ।

नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि नगरी राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका हुन् ।

स्थानीयले शंका गर्दै पोष्टमार्टम गर्नुपर्ने बताएपछि राति नै शव अस्पतालसम्म पुर्‍याइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । स्थानीयले घटना शंकास्पद भएकोले छानविन हुनुपर्ने बताएका छन् ।

बिक्कीको टाउकोको शल्यक्रिया गर्दा १ लाख ८२ हजार २ सय रुपैयाँको बिल नोबेलले उठाएको थियो । सो रमकमध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट र बाँकी रकम चन्दा उठाएर तिरेको कार्कीले जानकारी दिनुभयो ।

गरिब र असाहयको निःशुल्क उपचार गरिरहेको प्रचार गर्ने नोबेलले अतिविपन्न विकि ऋषिदेवको उपचार खर्चमा छुट दिन ईन्कार गर्दै शव नै बन्धक बनाएको थियो । स्थानीयको सहयोगमा रकम बुझाएर अन्तिम शव लगेपछि संस्कार गर्नलाग्दा पेट चिरेको देखिएपछि पोष्र्टमार्टमको तयारी गरिएको मृतकका आफन्त सुमन ऋषिदेवले जानकारी दिनुभयो ।