धनकुटाको राजारानीले जित्यो स्व. संजोग स्मृति फुटबल प्रतियोगिताको उपाधि

  • २५ पुष २०७७, शनिबार

‍‍बेलबारी फुटबल क्लबद्वारा आयोजित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धनकुटाको रारा फुटबल क्लब राजारानीले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा धनकुटाले सताक्षीधाम स्पोटिङ क्लब, झापालाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी रंगशालामा धनकुटा र झापा बिचको खेल निकै रोमाञ्चक भएको थियो । निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकर भएको थियो ।

टाइब्रेकरमा धनकुटाको तर्फबाट बुद्ध चेम्जोङ, उमेश कार्की, सुनिल खड्का र सूर्य अधिकारीले गोल गरेका थिए । झापाबाट भने प्रमोद चौधरी, एन्जल गुरुङ र शिशिर लेखीले गोल गरेका थिए । धनकुटाका रुपेश केसी, झापाका विशाल दर्जी र संजित राई भने गोल गर्न चुकेका थिए ।

प्रतियोगिताको विजेता धनकुटाले उपाधिसहित नगद ५१ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता झापाले मेडल, ट्रफी सहित ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ ।

फाइनल खेलको म्यान अफ दि म्याच धनकुटाका प्रवेश दनुवार घोषित भए । उनले ट्रफीसहित नगद पुरस्कार रु.२ हजार ५ सय ५५ प्राप्त गरे । उत्कृष्ट गोल किपर राजारानीका सूर्य अधिकारी घोषित भए । अधिकारीले ट्रफीसहित नगद पुरस्कार रु.५ हजार ५ सय ५५ प्राप्त गरे ।

प्रतियोगितामा रारा धनकुटाका प्रशिक्षक सुक्पाल च्याम्जोङ उत्कृष्ट प्रशिक्षक, झापाका सनजित राई उत्कृष्ट डिफेन्स, बेलबारी फुटबल क्लबका हुइलसन गिरी वेस्ट राइजिङ प्लेयर, सर्वाधिक गोल कर्ता शिशिर लेखी र  सर्वोत्कृष्ट खेलाडी एन्जल गुरुङ घोषित भए ।
बेलबारी फुटबल क्लबका खेलाडी स्व. सन्जोग लिम्बूको स्मृतिमा प्रतियोगिता गराइएको थियो । पुस १६ गतेदेखि भएको प्रतियोगितामा १० वटा टिमले भाग लिएका थिए ।