धनकुटामा बहुमतवाला नेकपाको जिल्ला तथा पालिका कमिटीहरु पुनर्गठन

  • १५ फाल्गुन २०७७, शनिबार

‍धनकुटामा प्रचण्ड नेपाल नेतृत्वको नेकपा जिल्ला कमिटी पुनर्गठन गरिएको छ।

पूर्व एमाले र पूर्व माओवादी एकता भइ बनेको नेकपाको जिल्ला कमिटीका अध्यक्ष र केही सदस्यहरु ओली समूहमा लागेपछि खाली भएको संख्या पदपूर्ति गरी सपथ ग्रहण गराइएको हो।

यसअघि अध्यक्ष राजेन्द्र राई ओली समूहमा लागेपछि प्रचण्ड नेपाल समूहको केन्द्रिय कमिटीले धनकुटा अध्यक्षमा अध्यक्ष दुर्गा लिंखालाई चयन गरेको थियो । त्यस्तै पार्टी एकतापछि बनेको १ सय ३७ सदस्यीय जिल्ला कमिटीमा ७४ जना प्रचण्ड नेपाल समूहमा रहेकोले ६३ जनाको पदपुर्ति गरि ग्रहण गरिएको सचिव ऋषिराम ढुंगानाले जानकारी दिए।

शुक्रबार नेकपा धनकुटा अध्यक्ष लिंखा सहित ६३ जनालाई नेकपा केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज हेमराज भण्डारीले सपथ ग्रहण गराएका हुन।

यस्तै सो पार्टीले धनकुटा सात वटै स्थानीय तहको अध्यक्ष सचिबको चयन गरेर पद तथा गोपनियताको सपथ गराएको छ। जसमा धनकुटा नगरपालिकाको अध्यक्ष खगेन्द्र विष्ट, सचिब सुजनभाई जोशी, चौविसे गाउँपालिकाको अध्यक्ष इन्द्र खत्री, सचिब बुदराज याखा, सहिदभूमि गाउँपालिकाको अध्यक्ष भीमलाल राई, सचिब गोपाल राई र पाख्रिबास नगरपालिकाको अध्यक्षमा शोवित निरौला, सचिब बलराम खड्का चयन भएका छन।
यस्तै साँगुरीगढी गाउँपालिका अध्यक्ष जगत राई, सचिब अनिल किँराती, छथर जोरपाटी गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र कार्की, सचिब चेत राना मगर र महालक्ष्मी नगरपालिकामा अध्यक्ष प्रेम खड्का चयन भएका छन। महालक्ष्मी नगरपालिकाको सचिव टुंग्याउने बाँकी रहेको धनकुटा सचिब ढुंगानाले जानकारी दिए।

सो पार्टीले फागुन महिनाभित्रमा वडा तहसम्मका कमिटीलाई पूर्णता दिने निर्णय गरेको छ।