उपचार गर्न बिदेशिने प्रथा तोड्दै कांग्रेस नेता कोइराला, नोबेलमै गरियो पित्तथैलीको शल्यक्रिया
- २० फाल्गुन २०७७, बिहीबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली कांग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ ।
१ नं प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाको शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो ।
नोबेल अस्पतालका डा. अशोक कोइराला नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया गरी पित्तथैलीमा भएको ढुंगा निकालेको हो ।
सामान्य विरामी हुँदा पनि नेताहरु उपचारका लागि विदेश जाने गरेको भन्दै आलोचना हुने गरेका बेला नेता कोइरालाले भने शल्यक्रिया गराउन स्थानीय अस्पताल नै राजेका छन् ।
नेपाली कांग्रेस सुनसरी जिल्ला सभापतिसमेत रहेका कोइरालाले नोबेलमा राम्रो उपचार पाएको प्रतिक्रिया दिएका छन् ।
‘उपचार कहाँ गएर गराउने भन्दा पनि राम्रो उपचार कहाँ हुन्छ भन्ने महत्वपूर्ण कुरा हो,’ नेता कोइरालाले भने–‘पूर्वी नेपालमै पनि राम्रो उपचार गराउने यस्तो स्तरीय अस्पताल छन्, राम्रो उपचार यही पाइन्छ भने किन अन्त जानु भनेर नोबेलमै अप्रेशन गराएको हुँ ।’
शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई कोइराला अहिले घर फर्किएका छन् । अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक भएका कारण नेपालका बिभिन्न जिल्लासहित छिमेकी मूलुकका विरामी पनि उपचारका लागि नोबेल अस्पताल आउने गरेका छन् ।
नोबेलमा दैनिक करिब २५ जना बिरामीको ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया हुँदै आएको छ । अन्य अस्पतालको तुलनामा नोबेलमा नेपालकै सवैभन्दा धेरै ल्याप्रोस्कोपिक शल्यक्रिया हुने गरेको अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् ।
ल्याप्रोस्कोपिक शल्यक्रियाका लागि नोबेलले चार वटा अप्रेशन थ्रीएटर छुट्याएको छ ।