‍बेलबारी खानेपानीको नेतृत्वका लागि ठुलै राजनीति, कांग्रेस र एमालेका उम्मेद्वार भिड्दै

  • ४ चैत्र २०७७, बुधबार

‍बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि कांग्रेस र एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

कार्यकाल सकिएको लामो समय भइसक्दा पनि साधारणसभा गर्न नसकेको भनी आलोचना खेपिरहेको संस्थाको यही चैत ७ गते हुने चुनावी साधारणसभामा निर्बाचन नै हुने भएको छ । खानेपानी संस्थाको नेतृत्वलाई लिएर यतिबेला बेलबारीको माहोल नै गर्माएको छ ।

सर्बसम्मत नेतृत्व चयनका लागि बिगत एक महिनादेखि बेलबारीका राजनीतिक दलहरुले गरेको सहमतिको प्रयास समेत निरर्थक बनेपछि निर्बाचन प्रक्रियामा गएको हो ।
संस्थाको अध्यक्षका लागि एमालेबाट खेमप्रसाद गौतम र कांग्रेसबाट रुक्मिणी धिमालबिच प्रतिस्पर्धा हुने भएको छ । यहि चैत्र ७ गते शनिबार हुने संस्थाको तेस्रो साधारणसभाका लागि दुवै पक्षका अध्यक्षका दाबेदारहरु भोट माग्न ब्यस्त छन् ।

धिमाललाई नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् । गौतमलाई भने एमालेले साथ दिएको छ । अध्यक्षकी दाबेदार धिमाल गत स्थानीय निर्बाचनमा नेपाली काँग्रेसका तर्फबाट उपमेयरको उम्मेदवार बनेकी थिइन् । अध्यक्षका अर्का उम्मेदवार गौतम लायन्स क्लब बेलबारीका अध्यक्ष समेत हुन् । ७ बर्ष अघि बेलबारीबाट लायन्स क्लबका पदाधिकारीहरुकै नेतृत्वमा बेचिएको एम्बुलेन्स फिर्ता ल्याएर चर्चामा आएका गौतम ब्यबशायी समेत हुन् ।

यसैगरी उपाध्यक्षमा केशव घले निर्बिरोध निर्वाचित भएका छन् । सो पदका लागि उनको मात्र नाम परेको छ । सचिवमा जगतबहादुर क्षेत्रीले उम्मेद्वारी दिएका छन् । उनी पनि निर्बिरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा तोषिश सुवेदी र डिल्लीराज गिरीले उम्नेद्वारी दिएका छन् । दुई खुल्ला सदस्यका लागि प्रेमबहादुर गुरुङ, प्रकाशकुमार भण्डारी र गणेश बस्नेतले उम्मेद्वारी दिएका छन् । ३ जना महिला सदस्यमा शर्मिला मगर, बबिता राई र सीतादेबी बास्तोलाको उम्मेदवारी परेको छ । उनीहरू पनि निर्बिरोध निर्वाचित भएका छन् । सोमबार उम्मेदवारको मनोनयन दर्ता भएपछि त्यस्तो अबस्था देखिएको हो ।

२०६१ सालमा स्थापित आयोजनाको कार्यलयमा हाल ८ कर्मचारी छन् । २ हजार ५ सय उपभोक्ताहरुलाई ४ लाख ५ सय लिटरसम्म खानेपानी बितरण गर्न सक्ने ट्याङ्कीको क्षमता भएता पनि हाल धारा जडा भएका १४ सय उपभोक्ताले मात्र पानी उपभोग गरिरहेका छन् । संस्था ४ करोडभन्दा बढी घाटामा रहेको बताइएको छ ।

खानेपानी संस्थामा १ हजार ८ सय ९८ उपभोक्ता रहेपनि १ हजार ५ सय ८३ जनाले भोट हाल्न पाउने भएका छन् । ८ जना उपभोक्ताको धारा रिर्जब गरिएको र ३०७ जना उपभोक्ताले महशुल भुक्तानी नगरकोले ३ सय १५ उपभोक्ता मतदानबाट बञ्चित हुने भएका छन् ।