बेलबारी खानेपानीको अध्यक्षमा रुक्मणी बिजयी, संस्थाको चुनावमा पनि स्थानीय निर्वाचनकै झल्को

  • ८ चैत्र २०७७, आईतवार

साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बेलबारीको अध्यक्षमा रुक्मिणी धिमाल बिजयी भएकी छिन् ।

शनिबार संस्थाको तेस्रो साधारणसभाका क्रममा भएको निर्वाचनबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको समर्थनमा संयुक्त गठबन्धनकी उम्मेदवार कांग्रेस पार्टीकी रुक्मिणी अध्यक्षमा बिजयी भएकी हुन् ​।

धिमालले ७ सय ५२ मत ल्याएर बिजयी बन्दा नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका खेम प्रसाद गौतमले १ सय ८७ मत मात्र प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा गठबन्धनकै डिल्लीराज गिरी (उत्तम) ले ५ सय ३९ मत ल्याएर बिजयी भएका छन् । प्रत्यासी तोषित सुवेदीले ३ सय ७७ मत ल्याएका थिए ।

खुल्ला सदस्यमा प्रेमबहादुर गुरुङले ६ सय ६३, गणेश बस्नेत ६ सय ६ मत ल्याएर बिजयी भएका छन् । सदस्यका अर्का उम्मेदवार प्रकाश भण्डारीले ३ सय १७ मत मात्रै पाए ।

१ हजार ५ सय बढी मतदाता रहेको खानेपानीको निर्बाचनमा १ हजार ४३ मत खसेको थियो । जसमा ७० मत बदर भई ९ सय ७३ मत मात्र सदर भएको थियो । बेलबारी ३ स्थित भगवती माविमा शनिबार भएको निर्बाचनमा एकातर्फ कांग्रेस, माओबादी र जसपाको संयुक्त गठबन्धनबाट उम्मेदवारहरु निर्बाचन लडेका थिए भने अर्कोतिर एमाले समर्थित उम्मेदवार चुनाव लडेका थिए  ।
यसअघि उपाध्यक्षमा जसपाका केशव घले, सचिवमा माओवादी केन्द्रका जगत क्षेत्री, सदस्यमा बबिता राई , सर्मिला मगर र सीतादेवी बास्तोला निर्बिरोध निर्बाचित भईसकेका छन् ।

खानेपानीको चुनावी साधारणसभा मा राजनीतिक दलहरू दुई ध्रुवमा बाँडिएका थिए । दलका नेता, कार्यकर्ताहरुको सक्रियता, साधारण सभास्थलको चहलपहल र  माहोल भने स्थानीय चुनावकै झल्को दिने खालको थियो ।

साधारणसभामा आर्थिक बर्ष २०७१/०७२ देखि २०७६/०७७ सम्मका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । जसमा अध्यक्ष महेन्द्र प्रसाद सुवेदीले अध्यक्षको प्रतिवेदन, सचिव अमरबहादुर सुवेदीले प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष प्रतापकुमार थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।                                                        बेलबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हाल ब्यबस्थापक, सब-इन्जिनियर, कम्प्युटर अपरेटर, ल्याब टेक्निसियन, कार्यालय सहयोगी, पम्प अपरेटर, प्लम्बर, मिटर रिडर र फिल्ड हेल्पर सहित ११ कर्मचारी छन् । – अम्बिका भण्डारी