गोठगाउँस्थित पुर्वान्चल शिक्षण अस्पतालमा पनि हुनेभो २४ सै घण्टा उपचार

  • ९ चैत्र २०७७, सोमबार

‍पुर्वान्चल बिश्व बिद्यालय केन्द्रिय कार्यालयमा अबस्थित पुर्वान्चल बिश्व बिद्यालय शिक्षण अस्पतालले २०७८ बैशाख देखि २४ सै घण्टा सेवा दिने तयारी गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयको अनुगमन गर्न गएका राष्ट्रिय सभाका सांसद रमेश जंग रायमाझी र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल लगायतको टोलीसँगको भेटघाटका क्रममा सो जानकारी दिइएको हो ।

२४ सै घण्टा अस्पताल संचालनका लागि गृहकार्य भइरहेको र कर्मचारी र विशेषज्ञ डाक्टरको ब्यबस्थापनको विषयमा छलफल चलिरहेको उपकुलपति प्रा डा. यादवराज कोईरालाले बताए ।

प्रा. डा कोइरालाले आफ्नो कार्यकाललाई उपलब्धिमुलक र स्मरण योग्य बनाउन आफुहरु लागि परेको तर हाल मन्त्रीमण्डल फेरबदल भएपछि केही समस्या भएको बताए । उपकुलपति प्रा डा. यादवराज कोईरालाले समस्याको समाधानका लागि आफु लाग्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय सभामा प्रतनिधित्व गर्ने सांसद रमेशजंग रायमाझी र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल लगायतको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय अनुगमन गरेको थियो ।अनुगमनमा राजनीति दलका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागी थिए ।

अनुगमनका क्रममा सांसद रायमाझीले र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले विश्वविद्यालयले २४ घण्टा नै बिरामीलाई सेवा दिन केही समस्या भए आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए।

बिरामीका गुनासै गुनासा
अनुगमनमा सहभागीहरुले अस्पतालका कर्मचारी, बिरामी तथा उनीहरूका आफन्तसँग अस्पताललाई सुधार गर्न चाल्नु पर्ने कदम र अस्पतालले  दिने सेवा सुविधा र गुणस्तरका विषयमा जिज्ञासा राखेका थिए ।

अनुगमनका क्रममा अस्पतालका सेवाग्राहीहरुले विषेशज्ञ सेवा दिने डाक्टर २ घण्टा पनि नबस्ने, स्वास्थ्य बिमा वापत पाइने औषधि सबै उपलब्ध नहुने, ल्याबको रिपोर्ट ढिलो आउने जस्ता गुनासा राखेका थिए ।

पिच हुनेभो बिश्व विद्यालय जाने सडक
अनुगमन टोली समक्ष उपकुलपति प्रा. डा. कोइरालाले  पूर्वपश्चिम राजमार्गदेखि विश्वविद्यालयसम्म आउने बाटो कालोपत्रे चाँडै गर्न माग राखेका थिए । सो माग पूरा हुन लागेको र यही आर्थिक वर्षमा नै सो बाटो कालोपत्रे हुने क्रममा रहेको नगरप्रमुख ढकालले जानकारी दिए।

नगरप्रमुख ढकालले विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न नगरपालिका सदैव तयार रहेको बताए।