पथरी शनिश्चरेका हाकिमसहित ६ जनाविरुद्ध मुद्दा, भ्रष्टाचार गरेको आरोप
- २१ चैत्र २०७७, शनिबार
भ्रष्टाचार गरेको आरोपमा पथरीशनिश्चरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा खेप्नेमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, इञ्जिनीयर कृष्णप्रसाद कोइराला, सव इञ्जिनीयर लीलाराज भट्टराई, चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवान छन् ।
उनीहरूले गैरकानूनीरुपमा लाभ लिने गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।
आयोगले उनीहरू विरुद्ध २४ लाख २७ हजार ५ सय ४५ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।