बेलबारीमा बैशाख ९ देखि हुनेभो प्रदेश स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

  • ३० चैत्र २०७७, सोमबार

मोरङको बेलबारीमा १ न प्रदेश स्तरिय प्रथम बेलबारी मेयर कप ब्याडमिन्टन  प्रतियोगिता २०७८ संचालन हुने भएको छ।

डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा नगरपालिकाको मुख्य सहयोगमा यही बैशाख ९ देखि ११ गतेसम्म प्रतियोगिता हुन लागेको हो । आयोजक डाँगीहाट ब्याट्मिन्टन क्लबले आइतबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन एण्ड रिसोर्टमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको छ ।

बैशाख ९, १० र ११ गते सम्म हुने त्रिदिवसिय ब्याट्मिन्टन प्रतियोगिता बेलबारी वार्ड न ११ को लक्ष्मीमार्गमा रहेको लक्ष्मी खेल मैदानको कवर्ड हालमा हुनेछ ।

ब्याट्मिन्टन खेलका माध्यमबाट बेलबारी नगरको पहिचानलाई प्रदेश र सबै जिल्लामा पुरयाउने उदेश्यले त्रिदिवसीय प्रथम बेलबारी मेयर कप खुल्ला ब्याट्मिन्टन प्रतियोगिता २०७८ आयोजना गरिएको आयोजक डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष बल बहादुर मगरले बताए ।

ब्याडमिन्टन खेलका माध्यमबाट बेलबारी नगरपालिकाको पहिचानलाई नेपालका सबै प्रदेश र ७७ जिल्लामै पुयाउने उद्देश्यले बेलबारी ११ लक्ष्मीमार्गको लक्ष्मी खेल मैदानको कबर्ड हलमा प्रथम बेलबारी मेयर कप खुल्ला, भ्याट्रन र अन्तर सदस्यीय व्याडमिन्टन प्रतियोगिता सञ्चालन गरी देशैभरिका पालिकाहरुमा यस खेलको महत्वको वारेमा सन्देश पुर्याउने उद्देश्य रहेको छ । साथै कबर्ड हलको मर्मतसंभार गर्ने, खेलाडीहरुको व्यक्तित्व विकास , स्थानीय पहिचानको प्रचारप्रसार गर्ने, साथै खेलका माध्यमबाट अनुशासन कायम गरी सामाजिक विकृति र विसंगतिलाई न्यूनिकरण गर्ने र स्वास्थ्यका लागि खेल राष्ट्रको लागि खेल भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष मगरले बताए ।

प्रतियोगिता भेट्रान, खुला र अन्तर सदस्यीय गरी तीन प्रकारको हुनेछ ।  प्रतियोगितामा प्रदेश १ का बिभिन्न जिल्लाका ३० वटा नगरपालिकाका टिमहर सहभागी हुने प्रतियोगिता आयोजक संस्थाका सचिब जगतबहादुर बस्नेतले बताए ।

प्रतियोगिता संचालनका लागि माधव थापाको संयोजकत्वमा खेल समिति र राजेश बस्नेतको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

प्रतियोगिता अन्तरगत खुल्ला ब्याडमिन्टनतर्फ प्रथम हुनेले ३३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेले नगद २१ हजार नगदसहित ट्रफी र प्रमाणपत्र र तेस्रो हुनेले रु ११ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै भेट्रान ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम हुनेले नगद २१ हजारसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेले १६ हजार, नगद, ट्रफी र प्रमाण पत्र तथा तेस्रो हुनेले रु ११ हजार नगद सहित ट्रफी र प्रमाण पत्र पाउने खेल संयोजक माधवराज थापाले जानकारी दिए ।

त्यसैगरी अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले रु ५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र पाऊने छन् ।

प्रतियोगिताका आर्थिक संयोजक राजेश बस्नेतले प्रतियोगितामा अनुमानित ८ लाख ९५ हजार आम्दानी र ७ लाख ७४ हजार ५ सय खर्च हुने जानकारी दिए ।प्रतियोगिता संचालनका लागि बेलबारी नगरपालिकाले ३ लाख र विभिन्न संघ संस्थाले पनि सहयोग गर्ने भएका छन् ।

प्रतियोगिताबाट आम्दानी भएको रकम डाँगीहाटमा अबस्थित कबर्ड हलको स्तरोन्नति तथा बिकासका लागि खर्च गरिने डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष बल बहादुर मगरले बताए ।