‍पथरीशनिश्चरेले जित्यो प्रथम सुन्दरहरैंचा मेयर कपको उपाधि

  • १४ बैशाख २०७८, मंगलवार

मोरङको सुन्दरहरैंचामा आयोजित प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरेले हात पारेको छ ।

शुक्रबारे खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा आयोजक सुन्दरहरैँचालाइ १-० गोलले पराजित गर्दै शनिश्चरेले उपाधि जितेको हो । फाइनल खेलको ३१ औँ मिनेटमा जर्सी नं. १७ का सन्तोष न्यौपानेले गरेको गोल नै निर्णायक बन्दा पथरी शनिश्चरे उपाधी चुम्न सफल भएको हो ।

दिपक राईको पासमा सन्तोषले गोल गरेका थिए । पहिलो हाफमा गोल गर्न नसकी पछि परेर दवाबमा रहेको सुन्दरहरैंचा खेलको दोस्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भए पनि गोल गर्न नसकेपछि उप बिजेतामा चित्त बुझाउन बाध्य भयो ।

उपाधिसंगै पथरी शनिश्चरेले ३ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता भएको आयोजक सुन्दरहरैंचाले नगद १ लाख ५० हजार, ट्रफी र मेडलमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगिता अन्तरगत फाइनल खेलको म्यान अफ दि म्याच बिजेता टिमका सन्तोष न्यौपाने घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर पथरीका अर्जुन बस्नेत भए । फाइनल खेलमा हिमालयन शेर्पा क्लबमा खेलिसकेका बस्नेतको उत्कृष्ट बचाउ नै पथरीको तितको मुख्य कारण बन्यो । उत्कृष्ट मिडफिल्डर पथरीका साइमन लिम्बू, उत्कृष्ट प्रशिक्षक पथरीका अर्जुन राई, उत्कृष्ट डिफेन्डर सुन्दरहरैंचाका महेन्द्र कार्की, उत्कृष्ट फरवार्ड सुन्दरहरैंचाका आशिष चौधरी, उत्कृष्ट व्यवस्थापक पथरीका रोशन मादेम्वा, उदीयमान खेलाडी सुन्दरहरैंचाका नितेश श्रेष्ठ घोषित भए ।

त्यसैगरी पथरीका बिशाल पाण्डे र र सुन्दरहरैंचाका बिरेन्द्र लिम्बू सर्वाधिक गोलकर्ता तथा सुन्दरहरैंचाका टिम क्याप्टेन कोमल खवास सर्वश्रेष्ठ खेलाडी घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
उल्लेख्य दर्शकको उपस्थितिमा भएको फाइनल खेलमा सुन्दरपुर गाबिसका पुर्व अध्यक्ष तथा संबिधान सभा सदस्य चन्द्र बहादुर गुरुङ, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उप प्रमुख धना कुमारी तामाङ लगायतका जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सुन्दरहरैचा नगरपालिकाको आयोजना तथा शुक्रबारे युथ क्लब र सुन्दरहरैचा १२ को सह आयोजनामा भएको प्रतियोगितामामा विराटनगर सहित माेरङका विभिन्न स्थानीय तहका ९ वटा टिम सहभागी भएका थिए ।