प्रभावकारी बन्दै धनकुटाको कोभिड अस्पताल, आकस्मिक कक्ष पनि संचालन

धनकुटामा झण्डै ६ सय संक्रमित

  • १३ जेष्ठ २०७८, बिहीबार

तिन हप्ताअघि स्थापना भएको धनकुटा कोभिड अस्पताल र धनकुटा अस्पतालमा स्थापना भएको कोभिड आकस्मिक कक्ष प्रभावकारी भएको छ ।

धनकुटा अस्पताल प्रमुख डा. पुजन विश्वकर्माका अनुसार हाल धनकुटा कोभिड अस्पतालबाट ५० जना कोरोना संक्रमितहरु निको भई घर फर्केका छन् । कोभिड अस्पतालमा १० जना र धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा ६ जनाको अक्सिजन सहित उपचार भैरहेको छ ।

धनकुटा जिल्लामा सयौको सख्यामा कोरोना संक्रमित भए पनि जटिल खालका र अक्सिजन लगाउनु पर्ने संक्रमित विरामीहरुको मात्र अस्पतालमा भर्ना गरी उपचार गर्दै आएको अस्पतालका प्रमुख डा. विश्वकर्माले वताए । अन्य संक्रमितहरु भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परार्मशमा होम आईसोलेसनमा नै उपचार गराइरहेका छन् ।

धनकुटा जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण फैलिदै गएपछि बुधबारसम्म ५ सय ८० जना कोरोना संक्रमित भइसकेको र अधिकांश होम आईसोलेसनमा रहेको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले वताए ।

धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माकै सक्रियता र नेतृत्वमा तिन हप्ता अघि धनकुटा कोभिड अस्पताल स्थापना गरिएको थियोे । जटिल खालका संक्रमितहरु पनि उपचारका लागि आउन थालेपछि डा. पुजनकै सक्रियतामा धनकुटा अस्पतालमा आकस्मिक कोभिड कक्ष स्थापना भएको छ ।

चौविसै घण्टा धनकुटा कोभिड अस्पताल र कोभिड आकस्मिक कक्षमा धनकुटा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान जोखिममा राख्दै विरामीहरुलाई उच्च मनोमलका साथ उपचार गरिरहेको र सबैजसो कोरोना संक्रमित बिरामीहरु निको हुदै गएको भन्दै प्रसंसा हुन थालेको छ ।

धनकुटामा रहेको कोभिड अस्पतालमा कोरोना संक्रमित विरामीहरुको राम्रो उपचार भइरहेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

धनकुटा अस्पतालको आकस्मिक कोभिड कक्ष र कोभिड अस्पतालको प्रत्यक्ष अवलोकनपछि संघको टोलीले सो कुरा जनाएको हो ।