बेलबारी र केराबारीले जनताका लागि किन्ने भए १ लाख २० हजार डोज कोरोना खोप
- १५ जेष्ठ २०७८, शनिबार
मोरङको बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाले आफैं खरिद गरी जनतालाई कोरोनाको खोप लगाइदिने भएका छन् ।
कोरोना संक्रमण दर उच्च हुँदै गएपछि बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाले कोरोनाको खोप किन्ने तयारी गरेका हुन् ।
बेलबारी नगरपालिकाले १८ बर्षदेखि माथि ४० बर्षसम्मका ४० हजार नागरिकहरुलाई पहिलो र दोस्रो चरणको खोप गरी ८० हजार खोप आबश्यक रहेको भन्दै खोप खरिदको लागि पुर्व स्विकृतिका लागि जेठ १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।
नगरपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई लेखेको पत्रमा १८ वर्षदेखि माथि ४० वर्षसम्मका ४० हजार नागरिकहरूलाई पहिलो र दोस्रो चरणको खोप गरी ८० हजार खोप आवश्यक रहेकोले खोप खरिदका लागि स्विकृति माग गरिएको छ ।
खोप खरिदको स्वीकृति पाएपछि खोप खरिदको प्रक्रिया शुरु गरिने बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
नगरपालिकामा कोरोना सङ्क्रमण दर उच्च हुँदै गएको र सङ्घीय सरकारको मात्र भरपर्दा धेरैको ज्यान जान सक्ने जोखिम भएकोले आफ्नै श्रोतमा खरिद गरेरै भए पनि आफ्ना नगरवासीलाई कोरोनाबाट बचाउन यस्तो निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
बेलबारीमा २ सय ५० जना भन्दा बढि कोरोना सक्रमित रहेका छन भने १० जनाले ज्यान गुमाइसकेका छन ।
नगरपालिकाको आफनै अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ भने आफनै एम्बुलेन्स तथा अन्य केहि संघ सस्थाका एम्बुलेन्स समेत नगरपालिकाले लिएर कोराना सक्रमितहरुलाई निशुल्क अस्पताल लैजाने ल्याउने समेत गरीरहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।
त्यसैगरी केराबारी गाउँपालिकाले पनि ४० हजार डोज खोप आफैं खरिदका लागि स्वीकृति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।
कोरोनाको जोखिम उच्च रहेको र १८ बर्षमाथिका २० हजार गाउँपालिकाबासीलाइ आफ्नै स्रोतबाट दुई चरणको खोप लगाउनुपर्ने भन्दै गाउँपालिकाले मन्त्रालयमा पत्राचार गरेको हो ।
पत्रमा कोरोना नियन्त्रणका लागि खोप प्रभावकारी देखिएपनि संघीय र प्रदेश सरकारबाट पर्याप्त खोप उपलब्ध हुन नसकेकोले गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने १८ बर्षमाथिका नागरिकको जिउज्यान र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पालिकाको स्रोतबाट खोप लगाउने तयारी गरिएकोले दुई चरणका लागि ४० हजार खोप खरिदको स्वीकृति प्रदान गरिदिन अनुरोध गरिएको छ ।
केराबारी गाउँपालिकाले जेठ १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गरेको पत्राचारको बोधार्थ प्रधानमन्त्री कार्यालय, प्रदेश १ मुख्यमन्त्रीको कार्यालय र प्रदेश १ कै सामाजिक बिकास मन्त्रालयलाई समेत पठाइएको छ ।