मोरङसुनसरी समाजद्वारा विभिन्न पालिकाहरुलाइ ७८ वटा अक्सिजन सिलिन्डर सहयोग
- २० जेष्ठ २०७८, बिहीबार
मोरङ सुनसरी सेवा समाज नेपालले मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुलाइ करिब १५ लाख बराबरका ७८ थान अक्सिजन सिलिन्डर वितरण गरेको छ ।
विभिन्न सामाजिक सेवादेखि मातृभुमीमा आईपर्ने प्राकृतिक प्रकोप, महामारी जस्ता बिपत्तिमा स्थानिय निकायहरुसँग साझेदारी गर्दै सहयोगी भुमिका निर्वाह गर्दै आएको मोरङ सुनसरी सेवा समाजले बिदेशमा रहेका शाखाहरुको सहयोगमा सो सहयोग गरेको हो । मोरङ सुनसरी सेवा समाज नेपाल सहित अस्ट्रेलियामा रहेका मोसुवासीहरु, मोसु कतार, मोसु युएई, मोसु साउदी अरब, मोसु बहराइन, मोसु कुवेत, मोसु माल्टा, मोसु ओमान तथा मोसु जापान, यूके, यूरोप, दक्षिण कोरिया तथा अमेरिकामा रहेका जिल्लाबासीहरुको विशेष सहयोगमा ती अक्सिजन सिलिण्डर वितरण गरिएको मोरङ सुनसरी सेवा समाजले जनाएको छ ।
सुन्दरहरैंचा ९, बिराटचोकमा आयोजित एक कार्यक्रमबिच मोरङ सुनसरी सेवा समाज नेपालले विभिन्न पालिका मार्फत संचालनमा रहेका स्वास्थ्य संस्थाहरुलाइ सिलिण्डरहरु हस्तान्तरण गरिएको छ ।
मोरङ सुनसरी सेवा समाज नेपालका अध्यक्ष लोक बहादुर तामाङ, मोरङ सुनसरी सेवा समाज नेपालका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु गोकुलबहादुर थापा, मिलन खत्री, रमनाथ भण्डारी, बद्री बमली, कतारका संस्थापक चानक पोख्रेल लगायतले अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका थिए ।
सिलिण्डर हस्तान्तरण गरिएका पालिकाहरुमा मोरङको सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका, रतुवामाइ नगरपालिका, कानेपोखरी गाउँपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र धरानस्थित एक उपस्वास्थ्य चौकी छन् । केही पालिकाहरुले अक्सिजन सिलिण्डर बुझ्न बाँकी रहेको र ती पालिकालाई चाँडै हस्तान्तरण गरिने जानकारी मोरङ सुनसरी सेवा समाजका अभियन्ता टीएन बरालले दिए ।
मोरङ सुनसरी सेवा समाज मार्फत नै यसअघि पहिलो चरणमा मोरङको केराबारी र सुनसरीको रामधुनी नगरपालिकालाई अक्सिजन सिलिन्डर वितरण गरिसकिएको बरालले जानकारी दिए ।
सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, बेलबारी उपमेयर ढाकाकुमारी पराजुली, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुरारी प्रसाद घिमिरे, रंगेली नगरपालीकाका प्रशाशकीय अधिकृत कृष्ण भट्टराई लगायतको उपस्थितिमा भएको कार्यक्रममा पालिकाहरुलाइ अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो ।
सिलिन्डर हस्तान्तरण कार्यक्रममा उपस्थित सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले कोरोना महामारीका कारण अक्सिजनको अभाव र हाहाकार भइरहेको बेला मोरङसुनसरी सेवा समाजले पालिकाहरुलाइ अक्सिजन सिलिन्डर उपलब्ध गराएर ठुलो गुन लगाएको बताए ।
सिलिण्डर हस्तान्तरण कार्यक्रममा अध्यक्ष लोक वहादुर तामाङले सहयोग सम्पुर्ण मोसु शाखाहरु र विभिन्न देशमा कार्यरत सहयोगी मोरङ सुनसरीवासीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
सो अवसरमा मोसु नेपालका पदाधिकारीहरु तथा अभियन्ताहरुको सहभागिता थियो ।
मोरङ सुनसरी सेवा समाजका प्रवास शाखा समन्वय समिति संयोजक बिनोद भट्टराईको विशेष समन्वयमा तथा प्रवास शाखाका अभियन्ताहरु कुमार कार्की (साउदी अरबिया), अभिमानसिंह वस्नेत (अष्टे्रलिया), हेम सुवेदी (साउदी अरबिया), भिम वराईली (कतार), भुपि गोविन्द श्रेष्ठ (जापान), हरी श्रेष्ठ (वहराईन), राजन खतिवडा र सुर्य खरेल (युएई), तेज माझी (माल्टा), अरुण निंलेकु (कुवेत) रहेको समितिले सहयोग संकलन गरेको जानकारी मोसु नेपालका सल्लाहकार गोकुल वहादुर थापाले बताए ।
बिहीबार नै इटहरी उप– महानगरपालिका मेयर द्धारिका चौधरी तथा उप मेयर लक्ष्मी गौतमको उपस्थितिमा इटहरीस्थित उपस्वास्थ्य चौकीलाई प्रदान गरिएका ५ थान सिलिण्डर हस्तान्तरण समेत गरिएको छ ।