हामी विदेशी होइनौँ भन्ने प्लेकार्डधारी बोका लिएर बेलबारीमा युवाहरूले गरे प्रदर्शन
- ३१ जेष्ठ २०७८, सोमबार
अस्ट्रेलियाबाट चार्टर गरी ल्याइएका बोयर जातका भन्दै बेलबारी नगरपालिका क्षेत्रमा किसानहरूलाइ बितरण गरिएका बोका बाख्रा खरिदमा १ करोड बढी भ्रष्टाचार भएको भन्दै बेलबारीका केही युवाहरूले प्ले कार्ड झुन्डाइएका बोकासहित प्रदर्शन गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरी परेको भोलिपल्ट युवाहरूले सोमबार प्रदर्शन गरेका हुन् । नवलपरासीबाट बाख्रा ल्याएर अस्ट्रेलियन बोयर भन्दै किसानको आँखामा छारो हाली भ्रष्टाचार गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला युवाहरुले नगरपालिका गेट अगाडि “हामी विदेशी बोका होइनौँ नेपाली बोका हौँ, हाम्रो घर नवलपरासी हो, हामीलाई विदेशी भन्न पाइन्न, हामी जहाज चढेर आएका होइनौँ, विदेशी भनेर हाम्रो बेईज्जत नहोस् जस्ता दर्जनौ नारासहित प्ले कार्ड झुन्डाइएका बोका सहित प्रदर्शन गरिएको हो ।
बेलबारीका सुजित बस्नेत, खेम गौतम, रिक्त गुरुङ, कमल सुब्बा, बिशाल थापा, ऐश्वर्यप्रसाद आचार्य (विपिन) लगायतका युवाहरूको नेतृत्वमा दर्जनौँ युवाहरू विरोध प्रदर्शन सहित नगरपालिका पुगेका थिए ।
कृषकलाइ बितरणका लागि खरिद गरिएका बोयर बोका बाख्रा नक्कली भएको पाइएपछि बेलबारी नगरपालिकाले मापदण्ड विपरितका बोकापाठी ल्याउने ग्रो अर्गानिक कृषि प्रा.लि. लाई कालो सुचीमा राखी धरौटी जफत गर्ने र सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार कारवाही प्रकृया अघि बढाउने भएको छ ।
बेलबारी नगर कार्यपालिकाको गत सोमबार साँझ बसेको कार्यपालिका बैठकले अष्ट्रेलियाबाट ल्याउने भनेर सम्झौता गरिए पनि मापदण्ड विपरितका बोकापाठी ल्याउने ग्रो अर्गानिकका प्रतिनिधि भएर आएका श्याम पाण्डेको संलग्नता रहेका विभिन्न कम्पनीले प्राप्त गर्ने अन्य योजनाका ठेक्का प्रकृया पनि सबै रद्द गर्ने निर्णय समेत भएको छ ।
अष्ट्रेलियाबाट शत प्रतिशत शुद्ध बोयर बोकापाठी ल्याएर किसानलाई बाँड्ने नगरपालिकाको कार्यक्रम अनुसार ग्रो अर्गानिक कृषि प्रा.लि. सँग सम्झौता भएको थियो । तर नवलपरासीबाट नक्कली बोयर ल्याइएको खुलेपछि नगरपालिकाले कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकले उपमेयर ढाका पराजुलीको संयोजकत्वमा नगरपालिकाको योजना शाखाबाट १ जना, पशुबिकास शाखाबाट १ जना तथा नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र
र जनता समाजवादी पार्टीबाट १/१ जना सदस्य रहनेगरी छानविन समिति बनाउने निर्णय भएको थियो । तर उप मेयरले छानबिन समितिमा बस्न अस्वीकार गरेपछि कार्यपालिका सदस्य बिन्दुकला गुरुङलाई छानबिन समितिको संयोजक बनाइएको छ ।