पालिकाहरुले घर घरमै स्वास्थ्यकर्मी पठाउन थालेपछि राहत महसुस गर्दैछन् कोरोना संक्रमितहरु      

  • ८ असार २०७८, मंगलवार

 अम्बिका भण्डारी
मोरङ केराबारी ९ का ६५ बर्षिय गोपीकृष्ण निरौलालाई असार पहिलो साता अचानक हन्हनी ज्वरो आयो । एक दुई दिन त बर्खे कामको चटारोले ज्वरो आएको होला भन्ने ठानेर खासै वास्ता भएन। त्यसमाथि निरौलाले हालसालै पहिलो कोरोना पनि लगाएकाले खोपको असर पो हो कि भन्ने पनि ठाने । तर चार पाँच दिनसम्म पनि ज्वरो आइरहेपछि उनी स्वास्थ्य चौकी पुगे । ज्वरो आएकोले एण्टिजिन परिक्षण गर्दा पो थाहा भो, निरौलालाई कोरोना संक्रमण भएको रहेछ ।

  कोरोना पुष्टि भएपछि स्वास्थ्य सामग्री लिएर स्वास्थ्यकर्मीहरु निरौलाको घरमै पुगे । स्वास्थ्यकर्मीहरुले मास्क, सेनिटाजर,  भिटामिनयुक्त औसधि, सिटामोल र एण्टिबायोटिक समेत दिएर गए । त्यतिमात्र होइन, स्वास्थ्यकर्मीहरुले संक्रमितको परिवार र छरछिमेकीहरुलाइ समेत काउन्सिलिङ गर्दै सतर्कता अपनाउन प्रेरित गरे । हाल गोपीका छरछिमेकी र आफन्तहरु सतर्क भएका छन् ।  स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सामाग्री समेत दिएर नियमित निगरानी र हेरचाह गरेका कारण बिरामी र परिवारजनले समेत राहत महसुस गरेका छन् ।

कोरोना संकमित गोपी मात्र होइन, केराबारी गाउँपालिकाले सबै वडामा कोरोना संक्रमणलाई मध्यनजर गरी एक एक जना फोकल पर्सन सहित स्वास्थ्यकर्मी खटाएपछि कोरोना संक्रमित बिरामीहरुले थोरै भएपनि राहत महशुस गरेका छन् । संक्रमितलाई स्वास्थ्य सामग्री तथाऔसधि बितरण र स्वास्थ्य सतर्कताका लागि दिइने सल्लाह र सुझावले बिरामीहरुलाइ हौसला थपेको छ ।

केराबारी ९ निवासी पत्रकार भक्तशेर लिम्बुलाई पनि जेठ महिनामा दोस्रो लहरको कोरोनाले निकै ग्रस्त बनायो ।  कोरोना संक्रमण भएको थाहा पाएपछि गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरु घरमै आए । गाउँपालिकामै गरिएको रेपिड टेष्टबाट कोरोना पुष्टि भएपछि उनलाई स्वास्थ्यकर्मीले केही स्वास्थ्य सामग्री र औषधि समेत दिए ।

गाउँपालिकाका प्रत्येक वडामा आधारभूत स्वास्थ्य उपचार केन्द्र र स्वास्थ्य चौकी स्थापना भइ सकेका छन् । त्यसैले स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र  वडा वडामा खटाइएका फोकल पर्सनले कोरोना सम्बन्धि सचेतना फैलाउने र कोरोना संक्रमित तथा तिनका परिवारलाई स्वास्थ्य सामग्री तथा औसधि दिने गरेका छन् ।

हाल संक्रमित तथा तिनका परिवारलाई गाउँपालिकाले ३० देखि ५० वटा मास्क, आधा लिटर सेनिटाइजर, दुइवटा साबुन, भिटामिन सी र बी कम्प्लेक्स, जिंक, सिटामोल र एण्टीबायोटिक औसधि दिने गरेको छ ।  स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार केराबारीमा ४८ जना स्वास्थ्यकर्मीहरु छन् । जसमध्ये १७ जना केराबारीस्थित कोभिड अस्पतालमा कार्यरत छन् भने बाँकी वडा वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत छन् ।  केराबारीमा १० बेडको कोरोना अस्पताल समेत संचालनमा छ ।

हुन त गाउँपालिकाले केराबारीमा कोरोना संक्रमण अन्यत्रभन्दा कम छ । तर कोरोना जस्तै लाग्ने लक्षण देखिए पनि अस्पताल बस्दा उपचारमा हुने बेवास्ता र हेरचाहको कमी, अस्पताल गयो भने झन् मरिन्छ भन्ने हल्ला र उपचार नै नगरी पचाइन्छ भन्ने सोचाइका कारण कोरोना नियन्त्रणमा नआएको   केराबारी गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक टोम चौलागाईं बताउँछन् । ज्वरो आएका बिरामीहरुले पनि कोरोना टेष्ट गर्न नखोज्ने तथा कोरोना संक्रमण पुष्टि भएका कतिपय मानिसहरु पनि घरमा नबसी हिड्ने गरेकोले संक्रमण नियन्त्रणमा नआएको चौलागाईंको दाबी छ ।

कोरोनाको पहिलो चरणमा  ३३ जना  संक्रमित भएको गाउँपालिकाका दुई जनाले ज्यान गुमाएका थिए ।

कोरोनाको पहिलो चरणमा ३३ जनामा संक्रमण र २ जनाको मृत्यु भएको थियो । दोस्रो चरणको कोरोना महामारी शुरु भएयता २०७८ असार ६ गतेसम्म केराबारी गाउँपालिका क्षेत्रमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।    केराबारी गाउँपालिका क्षेत्रमा दोस्रो चरणमा ९ जनाको मृत्यु भएको जनस्वास्थ्य निरीक्षक  चौलागाईंले जानकारी दिए ।

त्यसो  त मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वयम्सेवक बिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमा पुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन् ।

नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालित अभियानमा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु समेत बितरण गर्ने गरीएको छ ।

कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन, पिपिई पन्जा, मास्क तथा सेनिटाइजर उपलब्ध गराउने गरेको  छ ।   स्वास्थ्यकर्मी लगायत नगरपालिकाका मेयर, उपमेयर लगायतले समेत संक्रमितहरुलाइ घर घरमै  गएर भेट्ने गरेका छन् ।  बेलबारी नगरपालिकामा दोस्रो चरणको संक्रमण फैलिएयता ४ सय २७ जनामा संक्रमण भएको छ भने १७ जनाले ज्यान गुमाएका छन् ।

केराबारी र बेलबारी मात्र होइन, सुन्दरहरैचामा पनि कोरोना संक्रमितहरुलाई नगरपालिकाले स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य सुरक्षा सामग्री, औसधि र आवश्यक परेमा अक्सिजन उपलब्ध गराउँदै आएको छ । सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाल संक्रमितका घर घरमा पुग्ने गरेका छन् ।  नगरपालिका क्षेत्रमा १ हजार १ सय ७२ जना संक्रमित भएका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।