आफैं किनेर जनतालाई कोरोनाको खोप लगाउन खोज्छ्न् स्थानीय पालिका, बाधक बन्दैछ संघीय सरकार 

  • ९ असार २०७८, बुधबार

अम्बिका भण्डारी               

  मोरङको बेलबारी नगरपालिकाले २०७८ जेठ १२ गते १८ बर्षमाथिका सबै नगरबासीहरुका लागि ८० हजार डोज कोरोना विरुद्धको खोप खरिद गर्ने निर्णय गर्यो । नगरपालिकाले कोरोना खोप खरिदको अनुमतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार पनि गर्यो । सो निर्णय सार्वजनिक भए लगत्तै जताततै त्यसको प्रशंसा भयो । सामाजिक संजालदेखि मिडियाहरुमा पनि सो निर्णयले चर्चा पायो । 

संघीय सरकारले नागरिकहरुको लागि कोरोना खोप ल्याउन नसकिरहेको बेला एउटा स्थानीय तहले कोरोना खोप खरिद गरी जनतालाई खोप लगाउने निर्णय गर्नु आफैंमा प्रसंसनीय थियो । त्यसैले त्यसको सर्वत्र स्वागत र प्रशंसा भयो पनि तर संघीय सरकारले स्थानीय तहलाइ खोप खरिद गर्न अनुमती नदिने भएपछि नगरबासीलाइ खोप लगाउने योजना अलपत्र परेको छ । 

बेलबारी नगरपालिकाले १८ बर्षदेखि माथि ४० बर्षसम्मका ४० हजार नागरिकहरुलाई पहिलो र दोस्रो चरणको खोप गरी ८० हजार खोप आबश्यक रहेको भन्दै  खोप खरिदको लागि पुर्व स्विकृतिका लागि जेठ १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो ।

नगरपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई लेखेको पत्रमा १८ वर्षदेखि माथि ४० वर्षसम्मका ४० हजार नागरिकहरूलाई पहिलो र दोस्रो चरणको खोप गरी ८० हजार खोप आवश्यक रहेकोले खोप खरिदका लागि स्विकृति माग गरिएको थियो  । नगरपालिकाले आन्तरिक श्रोतबाट करिब चार- पाँच करोड खर्च गरेर कोरोना खोप किन्ने आँट गरेपनि संघीय सरकार त्यसको बाधक बनेको छ ।

कोरोना संक्रमण दर उच्च हुँदै गएपछि  गाउँपालिकाले पनि कोरोनाको खोप किन्न सरकारसँग अनुमति माग गरेको थियो ।गाउँपालिकाले जेठ १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गरेको पत्राचारको बोधार्थ प्रधानमन्त्री कार्यालय, प्रदेश १ मुख्यमन्त्रीको कार्यालय र प्रदेश १ कै सामाजिक बिकास मन्त्रालयलाई समेत पठाइएको थियो ।

नगरपालिकामा कोरोना सङ्क्रमण दर उच्च हुँदै गएको र सङ्घीय सरकारको मात्र भरपर्दा धेरैको ज्यान जान सक्ने जोखिम भएकोले आफ्नै श्रोतमा खरिद गरेरै भए पनि आफ्ना नगरवासीलाई कोरोनाबाट बचाउन यस्तो निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको भनाइ छ ।

कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि हालसम्म कति खर्च भयो भन्ने प्रश्नमा बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सन्तोष गहतराजले कोरोनाको पहिलो र दोस्रो लहरमा गरी करिब ५० लाखभन्दा बढी खर्च भएको तर दोस्रो लहरको कोरोना शुरु भए यताको यकिन बिवरण असारमसान्तपछि मात्रै थाहा हुने बताए ।

त्यसैगरी मोरङकै केराबारी गाउँपालिकाले पनि ४० हजार डोज खोप आफैं खरिदका लागि स्वीकृति माग गर्दै झन्डै एक महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो  ।

कोरोनाको जोखिम उच्च रहेको र १८ बर्षमाथिका २० हजार गाउँपालिकाबासीलाइ आफ्नै स्रोतबाट दुई चरणको खोप लगाउनुपर्ने भन्दै गाउँपालिकाले मन्त्रालयमा पत्राचार गरेपनि त्यो योजना अधुरै रहने भएको छ ।

पत्रमा कोरोना नियन्त्रणका लागि खोप प्रभावकारी देखिएपनि संघीय र प्रदेश सरकारबाट पर्याप्त खोप उपलब्ध हुन नसकेकोले गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने १८ बर्षमाथिका नागरिकको जिउज्यान र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पालिकाको स्रोतबाट खोप लगाउन दुई चरणका लागि ४० हजार खोप खरिदको स्वीकृति प्रदान गरिदिन अनुरोध गरिएको गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले बताएका छन् ।  खोप खरिद गर्ने अनुमति पाएमा गाउँपालिकाले आन्तरिक श्रोतबाट दुई करोड खर्च गर्ने योजना बनाएको थियो । संघीय सरकारले आफ्नो असक्षमता ढाक्न स्थानीय पालिकाहरुलाइ खोप खरिद गर्न नदिनु दु:खद भएको केराबारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज खड्का बताउँछन् ।

पहिलो र दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि केराबारी गाउँपालिकाले बिपत ब्यबस्थापन कोषबाट करिब ५० लाख खर्च गरिसकेको छ । पहिलो लहरमा क्वारेन्टाइन, राहत बितरण, काठमाडौंबाट उद्दार लगायतका लागि  करिब ३० लाख खर्च भएको र दोस्रो चरणमा जाँच तथा उपचार, एम्बुलेन्स, औसधि तथा स्वास्थ्य सामग्री बितरण आदिका लागि करिब २० लाख खर्च भएको केराबारी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । छैटौं गाउँसभा अधिवेशनबाट बिपत ब्यबस्थापन कोषमा १ करोड २० लाख रुपैयाँ बिनियोजन गरेको र त्यसबाट नै कोरोना नियन्त्रणका लागि खर्च भएको गाउँपालिकाले जनाएको छ ।