बेलबारी नपाद्वारा ५० स्थानमा फ्रि वाईफाई जडान, विद्यार्थीलाई दिइयो सियुजी सिम

  • ६ श्रावण २०७८, बुधबार

मोरङको बेलबारी नगरपालिकाले ५० स्थानमा फ्रि वाईफाई जडान गरेको छ ।

बैकल्पिक बिधिबाट पठन पाठन गर्न लागि सहज होस भन्ने उदेश्यका साथ एउटा वडामा ४ ठाँउमा जडान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

फ्रि वाईफाई जडान भएपछि इन्टरनेट पहुँच भन्दा बाहिर रहेको बिद्यार्थीहरुको पठन पाठनमा सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

नगरपालिकाका ५ वटा बिद्यालयलाइ भर्चुअल कक्षाको हब बनाएर पठन पाठन गरीने नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाले बताए ।

५ वटा बिद्यालयमा सबै बिद्यालयका शिक्षक शिक्षिका भेला भएर अनलाइनको माध्यमबाट सिकाइने कोइरालाको भनाइ छ । पहुँच नपुगेका बिद्यार्थीहरुका लागि सियुजि सिम उपलब्ध गराईएको नगर प्रमुख सुवेदीले बताए । सुवेदीका अनुसार सो सिमकार्ड मार्फत एक जना शिक्षकले ६ जना बिद्यार्थीलाई एकै पटक पढाउन मिल्ने छ ।

सिमको प्रयोग वाट सामान्य खालका मोवाईल बाट समेत पठन पाठन गर्न मिल्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।