तेह्रथुममा गाउँपालिका अध्यक्ष र लेखापालबिच कुटाकुट, दुवैले दिए प्रहरीमा उजुरी
- २५ श्रावण २०७८, सोमबार
तेह्रथुमको आठराई गाउँपालिकामा गाउँपालिका अध्यक्ष र लेखापाल बिच कुटाकुट भएको छ ।
ग्गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो मुक्का हानाहान भएको हो । गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ को बाँकी रहेको योजनाहरुको भुक्तानीको विषयमा अध्यक्ष लिम्बू र लेखापाल थापा बीच बिवाद बढेपछि गाउँपालिका परिसरमै भनाभन र मुक्का हानहान भएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को करिव २०० योजनाहरुको भुक्तानी गर्न बाँकी छ ।
अध्यक्ष र लेखापालबीच भनाभन हुँदै हात हालाहालको स्थिती भएको गाउँपालिकाका एक कर्मचारीले बताएका छन् । मुक्का हानाहानपछि अध्यक्ष र लेखापाल दुवैले ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा छुट्टाछुट्टै निवेदन दिएका छन् । दुवै पक्षले आफुमाथि हातपात भएको दाबी गर्दै प्रहरीमा निवेदन दिएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले बताए ।
दुवै निवेदन उपर सोमबार छलफल गर्ने रहभएको छ । गाउँपालिकामा अध्यक्ष र लेखापाल बीचको विवाद बढ्दै गएपछि गाउँपालिकाको काम प्रभावित बन्दै गएको छ । – हाम्रो सवालबाट