सुकुना र साजीलाल मावि तथा सुकुना क्याम्पसलाई सुन्दरहरैंचा नपाले दियो तिनवटा बस
- २८ श्रावण २०७८, बिहीबार
सुन्दरहरैंचा नगरपालिकाले नगरकै नमूना तथा धेरै विद्यार्थी भएको सुकुना माध्यमिक विद्यालय, दुलारीमा अबस्थित साजीलाल माध्यमिक विद्यालय तथा सुकुना बहुमुखी क्याम्पसलाई सवारी साधन प्रदान गरेको छ ।
नगरका उत्कुष्ट तीनवटा शैक्षिक संस्थाहरुको स्तररोन्नति तथा सुविधाको लागि स्कुल बस हस्तान्तरण गरिएको हो विद्यालयलाई स्रोत र साधनले सम्पन्न बनाउन नगरपालिकाले सहयोग गरिएको र आगामी दिनमा अन्य विद्यालयलाई पनि स्कुल बसको लागि अनुदान दिने योजना रहेको नगर प्रमुख शिवप्रसाद ढकालले बताए ।
नगरपालिकाले सुकुना मावि र साजीलाल माविलाई बस खरिदको लागि तीस- तीस लाख तथा सुकुना बहुमुखी क्याम्पस लाई सत प्रतिशत अनुदान दिएको थियो । अनुदानबाट खरिद गरिएका तीनवटै बस नगरपालिकाले बुधबार एक कार्यक्रमबिच हस्तान्तरण गरेको छ ।
स्कुल बस हस्तान्तरण कार्यक्रममा सुकुना माध्यमिक विद्यालयका प्रअ लक्ष्मीकुमार श्रेष्ठले नगरपालिकाको सहयोगले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र विद्यालयमा विद्यार्थी सहज तरिकाले आउन सहयोग पुग्ने बताए ।
।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका उपमेयर धनमाया तामाङ , प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे तथा अन्य जनप्रतिनिधिहरुको पनि उपस्थिति थियो । नगरप्रमुख ढकालले साजीलाल स्कुलका प्रधानाध्यापक कल्याण सिटौला, सुकुना माध्यमिक विद्यालयका प्रअ लक्ष्मीकुमार श्रेष्ठ र सुकुना क्याम्पसका क्याम्पसप्रमुख चन्द्रमणी राइलाई बस हस्तान्तरण गरेका थिए । कार्यक्रमा विद्यालय र क्याम्पसका शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरुको पनि उपस्थिति थियो ।