‘मृत्यु भएको’ ६ वर्षपछि मोरङ बेलबारीका सुवासले पाए नागरिकता

  • २९ श्रावण २०७८, शुक्रबार

दाहसंस्कार गरी मृत्यु दर्ता समेत गरिसकेका मोरङका एक व्यक्तिले ‘मृत्यु भएको’ ६ वर्ष पछि नागरिकता पाएका छन् ।

मोरङको बेलबारी ११ लक्ष्मी मार्गका सुवास तामाङले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता पाएका हुन् । सरकारी अभिलेखमा मृतकको विवरणमा समाबेश भएका सुवास हातमा मृत्यु दर्ताको प्रमाणपत्र बोकेर पुन: नागरिकता दिलाई पाउँ भनेर विगत ४ वर्षदेखि विभिन्न  सरकारी निकाय धाई रहेका थिए ।

मोरङको बेलबारी- ११ लक्ष्मी मार्गका सुवास तामाङ वि.स.२०७१ सालमा परिवार तथा आफन्तको अनुहारमा खुसी ल्याउने सपना बोकेर साउदी तिर लागे । साउदीमा हुन्डाइ कम्पनीमा काम गर्ने सम्झौतामा उनी विदेश गएका थिए ।

काम गरे बापतको तलब भने उनले बैकमा पाउने गरेका थिए । आफू बसेको ठाँउवाट बैक सम्म पुग्न समय लाग्थ्यो । तलब लिएर फर्कने क्रममा वि.स.२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भनी परिवारमा फोन आयो । साउदीमै रहेका सुवासका आफन्तले उनको शव नेपाल पठाउन पहल गरे । १५ दिन नबित्दै उनको शव त्रिभुवन विमानस्थल काठमाडौँ आइपुग्यो । श्रीमती सन्तोषी र बुबा हर्कबहादुर शव ल्याएर आफ्नो रितिरिवार अनुसार बेलबारीमा दाहसंस्कार गरे । पैसा कमाएर सुखको जिन्दगी काट्ने सपना बोकेर विदेश गएका सुवासको मृत्युको खबर आएपछि परिवार शोकमा डुब्यो ।

सुवास दुर्घटनामा परेको केही महिनापछि श्रीमतीलाई सुवासका साथीहरूले फोन गरे । विदेशको नम्बर बाट फोन आउँदा सन्तोषीको मन झस्कियो । पहिलो आवाज सुन्दा उनले फिल्मको कथा जस्तै महसुस गरिन । उनलाई पहिलो फोनमै भाउजू सुवास दाइ जिउँदै हुनुहुँदो रहेछ अस्पतालमा उपचार हुँदै छ भनेर फोनमा भनिएको थियो । सुवासकी श्रीमती सन्तोषी भन्छिन् खबर सुनेर अनुहारमा केही छिन हाँसो त थपियो तर दाहसंस्कार गरेको शव कसको थियो भन्ने चिन्ता भयो ।

सुवास भनेर दाहसंस्कार गरेका व्यप्ति भने बागलुङका टेकेन्द्र भण्डारी रहेछन्  । एउटै कम्पनीमा काम गर्ने ४ जना तथा ट्याक्सी ड्राइभर १ जना गरी ५ जना गाडीमा गएका थिए । रातको करिब १ बजेको थियो होला हामी कोठातिर आउँदै थियौँ सुवासले भने बाटोमा गाडी दुर्घटनामा परेछ मेरो होस आउँदा म अस्पतालमा थिएँ । हामी ५ जना गाडीमा गएकोमा म मात्रै बाँचेछु ।

बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सुवासलाई नागरिकता प्रदान गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका-२ पुर्ख्यौली घर भएका तामाङ वि.स.२०७१ सालमा साउदी अरबको एक कम्पनीमा गएको थिए । वि.स.२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भनी कम्पनीले शव पठाएको थियो । कम्पनीले शव पठाएपछि उनको परिवारले दाहसंस्कार गरी मृत्यु दर्ता समेत गरेको थियो ।

२०७२ साउन ६ गते तामाङको षडानन्द नगरपालिका-२ मृत्यु दर्ता भएको थियो । तामाङको परिवार मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मी मार्गमा बसाइँ सरेको थियो । आफ्नो  मृत्यु दर्ता खारेज गरी दिन माग गर्दै जिल्ला प्रशासनदेखखि वडा कार्यालयसम्म धाएका तामाङले नागरिकता पाएपछि पुन जीवन पाएको बताएका छन् ।

नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी निरौलाले सुभाष ६ महिना अघि प्रसासनमा आएको भएपनि त्यसपछि सम्पर्कबिहिन भएको  र आफुले यो विषयलाई गम्भीरताका साथ लिएर सुवासलाई बोलाएको बताए ।