कालगतिले सँगसँगै बिते जोइपोइ, डेढ घण्टा फरकमा गरियो दाहसंस्कार
- १ भाद्र २०७८, मंगलवार
मोरङको सुन्दरहरैँचामा पत्नीको निधन भएको केही घण्टामै श्रीमानको मृत्यु भएपछि डेढ घण्टाको अन्तरालमा दुवैको दाहसंस्कार गरिएको छ ।
सुन्दरहरैँचा १२ को खोर्सानेमा पत्नीको मृत्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृत्यु भएपछि सोमबार लोहन्द्रा खोलामा दाहसंस्कार गरिएको हो ।
आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु भएको थियो । बिहान श्रीमतीको सद्गतिको लागि लासलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृत्यु भयो । पत्नीको दाहसंस्कार गर्न गएका मलामीहरुले नै पतिको पनि दाहसंस्कार गराएका थिए ।
भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा –१२ खोर्सानेमा बसोबास गर्दै आएका ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन् ।