ठाउँ ठाउँमा सुरक्षा युनिट थप्न र कृषकहरुलाइ राहत दिन धनकुटा कांग्रेसको माग
- ४ भाद्र २०७८, शुक्रबार
नेपाली कांग्रेस धनकुटाले धनकुटाका विभिन्न समस्या तथा शान्ति सुरक्षाबारे गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस धनकुटाको एक टोलीले गृहमन्त्री खाँडसँग भेट गरी असिना पानी तथा बाढी पहिरो पीडित कृषकहरुलाई राहत दिन, धनकुटा जिल्लाको शान्ति सुरक्षा कायम गर्न लगायत ५ बुदे माग पत्र बुझाउदै केन्द्रिय सरकारको ध्यानाकर्षण गराएको हो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राई, पूर्व सभापति हरि अधिकारी, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु निमल थापा, पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति भीम थापा, नेपाल विद्यार्थी संघ धनकुटा काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष सविन पोखरेल, यूवा नेता मदन घिमिरे, सरेन्द्र गिरी, नेपाल निजामती कर्मचारी युनियन धनकुटाका पूर्व अध्यक्ष हरिकृष्ण राजभण्डारी लगायतका धनकुटाका नेताहरुले गृह मन्त्रीलाई माग पत्र बुझाएर ध्यानाकर्षण गराएका हुन् ।
धनकुटा कांग्रेसद्धारा गृह मन्त्री खाँडलाई बुझाइएको मागपत्रमा धनकुटाको कुवापानीमा अबस्थित प्रदेश नम्वर १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश नम्वर १ को प्रहरी तालिम केन्द्रमा रुपान्तरण गर्न, धनकुटाको भेडेटार, हिले, जितपुर र पाख्रिवास प्रहरी चौकीलाई स्तरोन्नती गरी ईलाका प्रहरी कार्यालय बनाउन र सागुरीगढी गाउपालिकाको आहालेको चाँदनी बजारमा प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ ।
यसैगरी धनकुटा जिल्ला सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको छिन्ताङ्ग देवी ६ नम्वर गुल्मलाई स्तरउन्नती गरी गण बनउन, धनकुटाको राजारानी, पाख्रिवास र जितपुरमा सशस्त्र प्रहरी बलको युनिट स्थापना गर्न र अत्यन्तै जोखिम रहेको मुलघाटको सशस्त्र विपत उद्धार युनिटलाई उद्धार तथा विपत समाग्रीहरु उपलब्ध गराउन गृह मन्त्री खाडसंग कांग्रेस धनकुटाले माग गरेको छ ।
गृहमन्त्रीलाइ गत बर्ष र यस बर्ष असिनापानीबाट छथरजोरपाटी, महालक्ष्मी र धनकुटा नगरपालिका लगायतका विभिन्न क्षेत्रहरुमा बन्द कोपी, कोपी, मोटरकोसा, आलु लगायत करोडौं रुपैयाँको क्षति भएकोले कृषकहरुलाई तत्काल राहत दिन र हावाहुरी,असिनापानी र अविरल बर्षाका काररण आएको बाढी पहिरोबाट क्षती भै घरवाहर विहिन भएका धनकुटाका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न माग गरिएको छ ।
यसैगरी कांग्रेस धनकुटाले गृह मन्त्री बालकृष्ण खाडलाई धनकुटामा निर्माण गर्न लागिएको प्रदेश स्तरीय कारागारलाई पर्याप्त बजेट बिनियोजन गर्न माग गरिएको छ ।
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, कांग्रेस धनकुटाका जिल्ला सभापती अग्नी प्रसादा पौडेल, र जिल्ला सचिव विजय सन्तोषी राईले हस्ताक्षर गरी गृह मन्त्री बाल कृष्ण खाडलाई गृह मन्त्रालयमा गएर छलफल गरी ५ बुदे माग पत्र बुझाएको हो ।