एमाले विभाजनसँगै वदलिनेभो प्रदेश १ को सरकार पनि

  • ६ भाद्र २०७८, आईतवार

नेकपा एमाले विभाजनसँगै प्रदेश १ को सरकार बदलिने भएको छ ।

खासगरी गठबन्धन अर्थात नेकपा एकीकृत समाजवादी, कांग्रेस, जसपा र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि पहल थालेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सांसद छन् ।

एमालेका ५१ सांसदमध्ये नेपाल एकीकृत समाजवादीतर्फ ८ जना खुलिसकेका छन् । समाजवादीमा खुलेका प्रदेश सांसदहरूमा राजेन्द्रकुमार राई, राजन राई, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे छन् ।

एमालेका ६ सांसद सावित्रीकुमारी रेग्मी, लीलाबल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ ‘तटस्थ’ छन् । सरकार बनाउने अंक गणितीय खेल शुरु भएपछि तटस्थ बसेका प्रदेश सांसदहरू तानातानमा पर्ने भएका छन् ।

प्रदेश सरकार गठनका लागि ४६ सांसद आवश्यक हुन्छ । नेकपा एकीकृत समाजवादीमा ८ सांसद मात्रै गएपनि कांग्रेस, माओवादी केन्द्र, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध गठबन्धनमा ४८ जना सांसद पुग्छन् ।

एमाले समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले अहिले ८ जना प्रदेश सांसद खुलिसकेको तर १५ जना आफूहरूसँग रहने दाबी गरेका छन् ।

‘प्रदेश सांसद तथा एमालेका सचिव भीमप्रसाद आचार्य, अर्का सांसद जीवन घिमिरे पनि नेकपा एकीकृत समाजवादीमा आएको अवस्थामा प्रदेशसभामा आफूहरूसँग १८ जना सांसद रहने राइले बताए ।

अहिले नेकपा समाजवादीमा खुलेका प्रदेश सांसदमध्ये कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र सरिता थापा भीम आचार्यनिकट मानिन्छन् । तटस्थ रहेकामध्ये यशोदा अधिकारी, लीलाबल्लभ अधिकारी र पदमकुमारी गुरुङ पनि भीम आचार्यनिकट र समाजवादीमा खुलेकी होमकुमारी साँवा र तटस्थ रहेका बलबहादुर साम्सोहाङ योगेश भट्टराईनिकट हुन् । तटस्थ बसेकामध्ये सावित्रीकुमारी रेग्मी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीकी पत्नी हुन् ।