नोबेलमा शल्यक्रिया गरेर ढाडवाट निकालियो टाउकोभन्दा पनि ठुलो गाँठो

  • ८ आश्विन २०७८, शुक्रबार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक विरामीको ढाडबाट ५ किलोको मासुको डल्लो निकालिएको छ ।

झापाको दमक नगरपालिका–३ आमचोकका ५६ बर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको हो ।

ढाडमा पलाएको बोसो मिश्रित मासुको ५ किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा.अमित भट्टराईले बताए ।

तामाङ धेरै बर्षअघिदेखि ढाडमा ५ किलोको मासुको डल्लो बोकेर बसिरहेका र नोबेल हस्पिटलमा सर्जरी गरेर निकालिएको डा.भट्टराईले बताए ।

डा.भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले अर्धवेहोस बनाएको र सफलतापूर्वक सल्यक्रिया गरेर विरामीलाई अर्धबेहोस बनाइ शल्यक्रिया गरिएको थियो । शल्यक्रियाका क्रममा नोबेलका एनएसथियोलोजिष्ट प्रा.डा.सीआर दासले सहयोग गरेका थिए ।

करिब १० बर्षअघि तामाङको गर्धन भन्दा मुनी ढाडको सिरानमा मासुको सानो डल्लो उम्रिएको थियो । त्यो क्रमिक रुपमा बढ्दै गएर ठूलो भएको हो । ढाडमा अस्वभाविक रुपमा मासुको डल्लो बढेपछि तामाङलाई हिडडुल गर्न र सुत्न निकै समस्या हुँने गरेको थियो । उनी बर्षौ अघिदेखि ५ किलोको मासुको डल्लो बोकेर बसिरहेका थिए ।

अहिले शल्यक्रिया गरेर ढाडबाट मासुको पोको निकालिएपछि उनलाई सहज भएको छ । ‘सुरुमा सानो विमिरो जस्तो निस्किएको थियो, पछि बढ्दै–बढ्दै गयो, सधै भारी बोकेर बासिरहनुपर्दा निकै गाह्रो भइरहेको थियो,’ तामाङले भने, ‘अप्रेशन गरेर फालेपछि ढुक्क भयो । १० बर्षदेखि बोक्दै आएको भारी बिसाएजस्तो भएको छ ।’

यसअघि नोबेलमा इलामकी एक महिलाको पाठेघरबाट ६ किलोको ट्यूमर निकालिएको थियो । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ