तीन दिनपछि बल्ल सुचारु भो धरान – धनकुटा सडक
- ४ कार्तिक २०७८, बिहीबार
धरान धनकुटा सडक अन्तरगत लेउती खोलाले बगाएर अवरुद्ध भएको सडक तीन दिनपछि सुचारु भएको छ ।
खोलामा पानीको बहाव कम भएपछि सडक डिभिजन कार्यालय, प्रहरी, ट्राफिक र नेपाली सेनाको पहलमा मर्मत तथा स्काभेटरले खनेर बाटो खुलाइएको हो ।
लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो । खोलाले बाटो कटान गरी बगाएपछि सयौँ सवारी साधन र यात्रु अलपत्र परेका थिए । सडक अबरुद्ध भएपछि मंगलबार अपरान्हदेखि बुधबार अपरान्हसम्म कुनै सवारी चल्न सकेका थिएनन् । बुधबार बेलुका सडक खुलाइएपनि बुधबार नै बेलुका फेरि सडक अबरुद्ध बनेको थियो । बिहीबार बिहानदेखि पु:न सुचारू भएको प्रहरीले जनाएको छ ।
त्यसो त सडक खुलेपनि सवारी साधनको कमीका कारण कैयौं यात्रुहरू धनकुटाबाट तराई झर्न पाएका छैनन् । मंगलबार परेको कुसलधारे बर्षाका कारण गुठीटार, मुलघाट, लेउती खोला किनार लगायत ठाउँ ठाउँमा सडक एकतर्फी मात्र चल्न सक्ने अबस्था छ ।