शशस्त्र प्रहरी, हिमालय शेर्पा, धनकुटा र झापा बेलबारी गोल्डकपको सेमिफाइनलमा

  • १४ कार्तिक २०७८, आईतवार

बेलबारी ११ स्थिति लक्ष्मी खेलमैदानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा रोलिङ क्लव धुलाबारी, शशस्त्र प्रहरी क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटर फाइनल खेलमा च्यासल यूथ क्लबलाई पराजित गर्दै रोलिङ क्लब, उदयपुर फुटबल क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब र रोयल फुटबल क्लब वेष्ट बंगाललाई पराजित गर्दै शशस्त्र प्रहरी क्लब सेमिफाइनलमा पुगेका हुन् ।

आइतबार बेलबारी ११ स्थिति लक्ष्मी खेलमैदानमा भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई १ का विरुद्ध २ गोलले हराउँदै रारा फुटबल क्लब धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ  ।
३ जना विदेशी खेलाडी सहित मैदान उत्रिएको रारा फुटबल क्लबले दोस्रो हापको अन्त्यमा थप गरेको २ मिनेटमा निर्णायक गोल गरेको थियो । राजारानी फुटबल क्लब धनकुटाका कर्ण लिम्बुको पासमा बिदेशी खेलाडी ग्लोरीले खेल शुरु भएको १० मिनेटमा गोल गर्दै अग्रता लिए पनि खेलको ३१ औं मिनेटमा आयोजक डाँगीहाटका सन्तोष न्यौपानेले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

दोस्रो हापपछि थप गरेको २ मिनेटमा राजारानीका योगेश गुरुङले सेन्टरमा पाएको गोल वान भर्सेस वनमा गोल गर्दै राजारानी फुटबल क्लबलाई विजयी गराएका थिए ।
आयोजक डाँगीहाटले निकै चर्चित र राष्ट्रिय लेबलका खेलाडी सहित मैदान उतारेर राजारानीलाई दबाबमा राखेपनि गोल गर्न चुक्दा आयोजकले हार बेहोर्नु पर्यो । आइतबारको अन्तिम क्वाटर फाइनल खेलको म्यान अफ द म्याच रारा फुटबल क्लब धनकुटाका बुद्ध चेम्जोङ भए ।

सोमबार हुने पहिलो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब काठमाण्डौं र रोलिङ क्लब धुलाबारी झापाबिच हुनेछ । त्यसैगरी दोस्रो सेमिफाइनल खेल राजारानी र शशस्त्र प्रहरीबिच हुने र दुवै खेलका बिजेता टीमले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बताए ।

प्रतियोगितामा एपिएफ काठमाडौँ, हिमालयन शेर्पा क्लब, च्यासल क्लब काठमाडौँ , आयोजक डाँगीहाट युथ क्लब, रारा युथ क्लब धनकुटा, उदयपुर फुटबल क्लब , रोलिङ क्लब झापा र रोयल फुटबल क्लब सिलिगुडी गरी ८ वटा ए डिभिजन क्लबहरू सहभागी भएका थिए ।

बेलबारी नगरपालिकाको सहयोग र बुद्ध एयरको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा विजेता टिमले पाँच लाख र उपविजेता टिमले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता अन्तरगत प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार पाँच सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११-११ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् ।
आयोजकका खेलाडीलाई आवतजावतको लागि दुईतर्फी रूपमा रात्रिकालीन यातायात खर्च व्यवस्था गरिने डाँगीहाट युथ क्लबका सचिव शम्भु बस्नेतले बताए । पहिलो खेलमा सहभागी भएर बाहिरिने टिमलाई १५ हजार र त्यसपछि प्रत्येक टिमलाई २० हजार रूपैयाँका दरले सहयोग गरिने र खेलाडीलाई खान, बस्न र दैनिक भत्ताबापत एक हजार तीन सय रूपैयाँ पाउने छन् ।

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको क्लबले जनाएको छ । प्रतियोगिताबाट नाफा भएको रकम खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम राइले बताए ।