बेलबारी गोल्डकपको उपाधिका लागि हिमालयन शेर्पा र शसस्त्र प्रहरी भिड्दै, हेर्न जाने हैन ?

  • १७ कार्तिक २०७८, बुधबार

बेलबारी गोल्डकपको उपाधिका लागि बुधबार हिमालयन शेर्पा र शसस्त्र प्रहरीको भिडन्त हुने भएको छ ।

बेलबारीको लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपको मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल काठमाडौँ फाइनलमा पुगेपछि हिमालयन शेर्पा क्लबसँग शशस्त्रको भिडन्त पक्का भएको हो ।
मङ्गलवार भएको सेमिफाइनल खेलमा रारा फुटबल क्लब धनकुटालाई ० का विरुद्ध २ गोलले हराउँदै सशस्त्र प्रहरी बल काठमाडौँ गोल्ड कपको फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा दुवै टिमबाट कुन पनि गोल हुन नसकेपनि दोस्रो हाफको अन्त्यतिर अर्थात् खेलको ७६ औँ मिनेटमा पेनाल्टी सुट आउटमार्फत सशस्त्र प्रहरीले पहिलो गोल गरेको थियो । रारा फुटबल क्लबका बिकु तामाडको डी एरिया भित्र हेन्ड भएपछि रेफ्री विक्रम कार्कीले पेनाल्टी दिएको थिए । सोही पेनाल्टी लाई आशिष लामाले गोलमा परिणत गरेका थिए ।
पहिलो गोल गरेको ८ मिनेट अर्थात् ८४ औँ मिनेटमा सशस्त्र प्रहरीका खेलाडी नवीन लामाले पुन ः अर्को गोल गर्दै टिमलाई २–० का अग्रता कायम गरेका थिए ।

खेलमा सशस्त्र प्रहरी बल काठमाडौँका खेलाडी सनीस श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । सनिसलाई कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सांसद लोकप्रसाद सङ्ग्रौलाले उपाधि र नगद पुरस्कार प्रदान गरेका थिए ।

बेलबारी नगरपालिकाको सहयोग र बुद्ध एयरको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा विजेता टिमले पाँच लाख र उपविजेता टिमले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता अन्तरगत प्रत्येक खेलको म्यान अफ द म्याचलाई पाँच हजार पाँच सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ३१ हजार, सर्वाधिक गोलकर्तालाई २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकला ११-११ हजार रूपैयाँ नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट नाफा भएको रकम खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपमा शशस्त्र प्रहरीको एपीएफ क्लब , हिमालयन शेर्पा क्लब, च्यासल क्लब काठमाडौँ , आयोजक डाँगीहाट युथ क्लब, राजारानी फुटबल क्लब धनकुटा, उदयपुर फुटबल क्लब , रोलिङ क्लब झापा र रोयल फुटबल क्लब सिलिगुडी गरी ८ वटा टीम सहभागी थिए ।