मोरङका शेखर, कुमोद र दिनेशले पाए गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार
- २६ कार्तिक २०७८, शुक्रबार
गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट मोरङका ३ जना पत्रकार पुरस्कृत भएका छन् ।
नेपाल प्रेस युनियन मोरङले शुक्रबार आयोजना गरेको सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा शेखर रेग्मी,कुमोद अधिकारी र दिनेश गिरी पुरस्कृत भएका हुन् ।
बेलबारी १ स्थित वुद्धिष्ट गुम्बामा आयोजित पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालले पुरस्कार प्रदान गरेका छन् । रेग्मी प्रेस युनियनका पुर्व केन्द्रिय उपाध्यक्ष, अधिकारी नेपाल प्रेस युनियन मोरङका पुर्व अध्यक्ष र गिरी प्रेस युनियन मोरङका पुर्व कोषाध्यक्ष हुन् ।
अघिल्लो वर्ष पुरस्कार वितरण हुन नसकेकाले अघिल्लो र यस वर्षको समेत गरी३ जनालाई पुरस्कृत गरिएको प्रेस युनियन मोरङले जानकारी दिएको छ । मन्त्री रिजालले जनही १५ हजार नगदसहित दोसल्ला ओढाएर तिनैजनालाइ सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री मिनेन्द्र रिजालले गिरीजाप्रसाद कोइरालाको राजनितिक व्यक्तित्वको स्मरण गरेका थिए । गिरीजाप्रसाद कोइरालाको राजनितिक व्यक्तित्वको स्मरण गर्दै रक्षामन्त्री रिजालले वर्तमान अवस्थामा कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धन र सहकार्य गरेको भएपनि कसैलाई एक्ल्याउने अरुको उद्देश्यका लागि कांग्रेस प्रयोग नभएको बताए ।
कार्यक्रममा कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बु, सचिव मोदराज घिमिरे, नागेस कोइराला, प्रदेशसभा कांग्रेस संसदिय दलका प्रमुख सचेतक सुयर्माराज राई, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरे, सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव ढकाल, कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, राजकुमार लिम्बु, कांग्रेस बेलबारीका सभापति छत्र लिम्बु लगायतको उपस्थिति थियो । कार्यक्रम प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतको सभापतित्वमा भएको थियो ।