बिराटचोकमा हुँदैछ माओवादी केन्द्रको पहिलो प्रदेश अधिवेशन, तयारी अन्तिम चरणमा
- २३ मंसिर २०७८, बिहीबार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को मंसिर २५ र २६ गते मोरङ विराटचौकमा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
विराटचौकस्थित जेसिस भवनमा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सचिव हेमराज भण्डारीले जानकारी दिए ।
प्रदेश सम्मेलनका लागि राजेन्द्र किराँतीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । प्रदेश अधिवेशनमा ११ सय प्रतिनिधी सहभागी हुने बताइएको छ ।
मंसिर २५ गते अधिवेशनको उद्घाटन हुनेछ । उद्घाटनपछि सोही दिन शुरु हुने बन्दशत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल र बहस गरी प्रतिवेदनहरू पारित हुनेछन् । मंसिर २६ गते सकेसम्म सहमतिमै प्रदेश समिति टुंगो लगाउने माओवादीको योजना छ । प्रदेश अध्यक्षको लागि सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले दाबेदारी गरेका छन् ।
अधिवेशनमा सहभागीहरुलाइ होटलतिर निषेध
प्रदेश अधिवेशनमा प्रतिनिधिहरुलाई कुनै होटलहरूमा नराखी शुभेच्छुक तथा नेता/कार्यकर्ताको घरमा राखिने भएको छ ।
अधिवेशनमा ठुलो रकम खर्च गरेर होटलमा राख्ने अवस्स्था नरहेकाले प्रदेश अधिवेशनमा धेरै खर्च नहुने नेकपा माओवादी केन्द्र प्रदेश १ का ईन्चार्ज राम कार्कीले बताए ।अधिवेशनमा एक छाक सामूहिक रूपमा खाना खाने, बिहान खाजा र दिउँसो बिस्कुट खाने कार्यक्रम रहेको अधिवेशनको पुर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रदेश अधिवेशनबाट अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना गरी ९ पदाधिकारीसहित १ नम्बर प्रदेशमा २५९ सदस्यीय कमिटी बनाउने बिहीबार सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटीले निर्णय गरेको छ । यसअघि बिधानमा ७ पदाधिकारीसहित १७५ जनाको कार्यसमिति चयन ब्यबस्था थियो । अधिवेशनले राष्ट्रिय सम्मेलनका लागि सय जना प्रतिनिधि चयन गर्ने बताइएको छ ।